Banner news

किसानलाई तिहारसम्म सयपत्री फूल जोगाउने चिन्ता

किसानलाई तिहारसम्म सयपत्री फूल जोगाउने चिन्ता


बिर्तामोड । तिहार आउन १२ दिन बाँकी रहँदै झापाका किसानलाई यतिबेला सयपत्री फूल टिप्न भ्याइनभ्याइ भएको छ । तिहारका लागि फूल तयार भएपछि किसानले धमाधम टिप्न थालेका छन् ।

यसवर्ष तिहार केही ढिलो पर्दा किसानलाई फूल सुरक्षित राख्न चुनौती भइरहेको छ । फुलेको फूल टिप्नैपर्ने बाध्यता भएपछि किसानले टिपिसकेको फूल कोल्डस्टोरमा राख्न थालेका छन् । तिहारसम्म फूल सुरक्षित राख्न उनीहरूले कोल्डस्टोरको सहारा लिनुपरेको छ ।

झापामा यसवर्ष कनकाईमाईपूर्व मात्रै १६ बिघाभन्दा बढी जमिनमा सयपत्री फूल लगाइएको छ । विभिन्न समूहले तिहारलाई लक्षित गरेर सयपत्री फूलको खेती गरिरहेका छन् ।

विगतमा भारतबाट आयातित फूल प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न आफूहरू उत्पादनमा लागेको बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजाल बताउँछन् । उनका अनुसार भारतबाट आयात हुने फर्मालिनयुक्त फूलको प्रयोगबाट नेपाली समुदायलाई मुक्त गर्न स्थानीयस्तरमै फूल खेती गरिएको हो ।

स्थानीय उपभोक्ताले विषादीरहित फूल प्रयोग गर्न पाउने उनको भनाइ छ । ‘फर्मालिन लगाएको फूलले कुनै दिन स्वास्थ्यमा असर गर्ने नै छ,’ उनले भने, ‘स्थानीय उपभोक्ताको स्वास्थ्यलाई समेत ख्याल गरेर फूल उत्पादन गरेका छौँ ।’
झापाका सयपत्री फूल उत्पादक किसानलाई तिहारसम्म फूल कसरी सुरक्षित राख्ने भन्ने चिन्ता थपिएको छ । ‘तीन–तीन दिनमा फूल टिपिन्छ,’ रिजाल भन्छन्, ‘टिपेको फूल सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा पु¥याउन थालिएको छ ।’

तयार भइसकेको फूल कोल्डस्टोरमा राख्नैपर्ने बाध्यता रहेको उनले बताए । कोल्डस्टोरमा राखिए पनि झापामा उत्पादित फूलमा फर्मालिन प्रयोग नगरिने उनको दाबी छ । ‘फूलका लागि अलग्गै कोल्डस्टोर हुन्छ, तर झापामा त्यो सुविधा छैन,’ उनले थपे, ‘यहाँ उपलब्ध स्टोरमै फूल सुरक्षित राख्न बाध्य छौँ ।’

यस्तै, वर्षाका कारण फूल खेतीमा क्षति पुग्न सक्ने भन्दै किसानहरू चिन्तित बनेका छन् । सम्भावित वर्षाले पनि आफूहरूलाई मारमा पार्न सक्ने उनीहरूको आँकलन छ । वर्षा रोक्न नसकिए पनि उत्पादित फूलको सुरक्षा गर्ने विषयमा आफूहरू सचेत रहेको रिजालले बताए ।

झापामा आवश्यक पर्ने मालाका लागि स्थानीय उत्पादनले नै माग धान्न सक्ने किसानको अनुमान छ । उनीहरूले स्थानीय उत्पादन नै उपभोग गर्न झापाली उपभोक्तालाई आग्रह गरेका छन् । स्थानीय उत्पादन पर्याप्त हुने भएकाले भारतबाट आयात हुने फूल प्रयोग नगर्न उनीहरूको सुझाव छ ।

किसानहरूले स्वस्थकर फूल उत्पादनसँगै मूल्यमा समेत एकरूपता कायम गर्ने योजना बनाएका छन् । उनीहरूका अनुसार एउटा माला १५० रुपैयाँसम्म पर्नेछ ।

अर्जुनधारा–१० स्थित मिश्र कृषि फर्मका आयुष मिश्रले मौसमका कारण फूल टिप्नैपर्ने बाध्यता भएको बताए । उनका अनुसार पानी परेको खण्डमा फूल कालो हुने भएकाले त्यसबाट जोगाउन फूल टिपेर कोल्डस्टोरमा राखिएको हो ।
फूल टिप्दै माला उनेर कोल्डस्टोरमा पठाइरहेको मिश्रले बताए । उनले स्थानीय उपभोक्तालाई फर्मालिन प्रयोग नगरिएको झापाकै उत्पादन प्रयोग गर्न आग्रह गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares