सम्पादकीय
कात्तिक र चैतमा रातभर गाउँघर डुल्दै फेरी लगाउने जोगीहरू नेपाली समाजको मौलिक सांस्कृतिक परम्पराका संवाहक हुन् । पुस्तौँदेखि चलिआएको जातीय सांस्कृतिक यो परम्परा खेतीपाती, भूमिपूजा, परिवारको सुखशान्ति र समृद्धिको कामनासँग जोडिएको छ । परम्परालाई निरन्तरता दिन हिँड्ने जोगी नै असुरक्षित हुन थालेपछि यसको संरक्षणमाथि प्रश्न उठ्नु स्वभाविक हो । पहिले जंगली हात्तीको डरले राति हिँड्न कठिन हुने गरेको जोगीहरू बताउँछन् । अहिले लागुऔषध प्रयोगकर्ताबाट हुन सक्ने आक्रमणको त्रास थपिएको छ । रातको समयमा गाउँघर डुलेर बिहान सीदा संकलन गर्नुपर्ने उनीहरू ढुक्क भएर हिँड्न सक्ने अवस्थामा छैनन् । झापाको अर्जुनधारामा गतसाता एकजना वृद्धको हत्या भएको घटनाले उनीहरूको त्रास थपिएको छ । यो जोगीहरूको व्यक्तिगत समस्या होइन, रातको समयमा नागरिकले भोग्नुपरेको सुरक्षा चुनौतीको संकेत पनि हो ।
विडम्बना, नेपाली समाज परम्परा जोगाउनुपर्ने कुरा गर्छ । तर, त्यसलाई धानिरहेका मानिसको सुरक्षाबारे पर्याप्त चासो राख्दैन । यसर्थ, संस्कृति संरक्षण भाषण र औपचारिक कार्यक्रममा सीमित हुनु हुँदैन । परम्परा पुस्तान्तरण गर्ने मानिस नै भयमा बाँच्नुपर्ने अवस्था छ भने संरक्षणका लागि प्रतिबद्धताको कुनै अर्थ रहँदैन । फेरी लगाउने परम्परासँग जोडिएको धार्मिक विश्वास सबैले मान्नुपर्छ भन्ने छैन । तर, विश्वास र संस्कारको सम्मान गर्नु र त्यसलाई निर्वाह गर्ने व्यक्तिको सुरक्षा सुनिश्चित गर्नु सभ्य समाजको दायित्व हो । आधुनिकता अपनाउनु भनेको पुराना संस्कारलाई तिरस्कार गर्नु होइन । बरु, तिनलाई समयअनुकूल सुरक्षित र सम्मानजनक बनाउनु पनि हो ।
यसका लागि प्रहरीले रातको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी निगरानी गर्नुपर्छ । स्थानीय तह, समुदाय र नागरिकले पनि जोगीहरूको सुरक्षामा चासो दिनुपर्छ । लागुऔषध दुरुपयोग नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने काममा राज्यले देखिने गरी सक्रियता बढाउन आवश्यक छ । परम्परा आफैँमा सुरक्षित हुँदैन, त्यसलाई जोगाउने मानिसको सुरक्षा चाहिन्छ । जोगीहरू डरका कारण राति हिँड्न नसक्ने अवस्था आयो भने संकटमा पर्ने उनीहरूको जीविका मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यास पनि हो । त्यसैले प्रश्न जोगीहरूले फेरी फुक्न छाड्लान् कि भन्ने मात्र होइन, आफ्नो परम्परा निर्वाह गर्न हिँड्ने नागरिकलाई सुरक्षित राख्न राज्य कति जिम्मेवार छ भन्ने पनि हो ।








प्रतिक्रिया