Banner news

अलैँची उत्पादन बढ्यो, मूल्य बढेन

अलैँची उत्पादन बढ्यो, मूल्य बढेन


ताप्लेजुङ । ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भए पनि मूल्य नबढ्दा स्थानीय किसानले फाइदा लिन सकेका छैनन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा परेका हुन् ।

आठ/दस वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसान निराश छन् ।
यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टका अनुसार ताप्लेजुङमा गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको छ । जिल्लामा अलैँची खेती गरिएको कुल चार हजार ३०२ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको विष्टले जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिएको छ ।

अहिलेको बजार मूल्यअनुसार अलैँची खेती तथा उत्पादनका लागि गरिएको लगानी र श्रम नउठ्ने अवस्था भएको किसानको भनाइ छ । सिरिजङ्घा गाउँपालिका–७, खेबाङका किसान ज्ञानु लिम्बूले अहिलेको बजार मूल्यले अलैँचीमा भएको लगानी नधान्ने बताउनुभयो । सुरुमा अलैँचीको राम्रो मूल्य आएपछि सोहीअनुसार श्रमिकको मूल्य बढेको तर अहिले मूल्य घट्दा श्रमिकको श्रम मूल्य भने नघटेकाले हालको अलैँचीको बजार मूल्यले लगानी नधान्ने लिम्बूको भनाइ छ ।

केही वर्षयता अलैँचीको सोचेजस्तो मूल्य नआउँदा किसानलाई खेती छोड्ने कि सम्हाल्ने भन्नेमा दोधारमा पु¥याएको सिदिङ्वा गाउँपालिका–७, सुरुमखिमका किसान बुद्ध दाहालले बताउनुभयो ।
यस वर्ष अलैँची बजारमा निस्कन थालेदेखि नै सोचेजस्तो मूल्य नआएको किसान तथा व्यवसायीको भनाइ छ । सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन (४० किलोग्राम) २४ हजार ५०० रुपियाँमा कारोबार भएको स्थानीय व्यवसायी दिनेश अधिकारीले बताउनुभयो । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका व्यवसायी अधिकारीले विगत एक साताअघि देखि नै सोही मूल्यमा अलैँचीको कारोबार भइरहेको जानकारी दिनुभयो । गोलसाई जातको अलैँची भने प्रतिमन २६ हजार रुपियाँमा कारोबार भइरहेको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष हालसम्म अधिकतम प्रतिमन २८ हजार र न्यूनतम २० हजार रुपियाँमा अलैँचीको कारोबार भएको छ । कुनै बेला एक लाख २० हजार रुपियाँसम्ममा समेत अलैँची कारोबार भएको स्मरण गर्नुहुँदै उहाँले हालको मूल्यले भने किसान र व्यवसायी दुवैलाई फाइदा नरहेको बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares