Banner news

झापामा कैदीवन्दी र वृद्धवृद्धालाई खोप लगाइने

झापामा कैदीवन्दी र वृद्धवृद्धालाई खोप लगाइने


बिर्तामोड । स्वास्थ्य कार्यालय झापाले पाँच दिनमा २५ सय ८१ जनालाई कोरोना विरुद्धको खोप लगाएको जनाएको छ । स्वास्थ्य कार्यालयमा फोकल पर्सन जीवन चौलागाईले हालसम्म खोपले कसैलाई नकारात्मक असर नगरेको जानकारी दिए । उनका अनुसार सामान्य ज्वरोसम्म आए पनि ठुलो समस्या देखिएको छैन ।

झापामा मेची अस्पताल , अनारमनी नगर अस्पताल र दमक अस्पतालबाट खोप लगाउने काम भइरहेको छ । जिल्लामा पहिलो दिन ५३५, दोस्रो दिन ५५८, तेस्रो दिन ४४१, चौथो दिन २२४ र पाँचौं दिन आइतवार ८२३ जनाले खोप लगाइसकेका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी, शव वाहनका चालकलाई खोप लगाइरहेको चौलागाईले जानकारी दिए ।

झापामा अझै तीन दिन खोप कार्यक्रम सञ्चालन हुने चौलागाईले बताए । उनले अब कारागारका कैदीवन्दी र वृद्धाश्रमका वृद्धवृद्धालाई पनि खोप लगाइने जानकारी दिए । चौलागाईले भने, ‘ साथै कारागारमा कार्यरत सुरक्षाकर्मी र छुटेका प्राइभेट अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाइन्छ ।’ पहिलो दिन नै खोप लगाएका फोकल पर्सन चौलगाईले खोप सुरक्षित रहेको इजलाससित बताए ।

शेयर गर्नुहोस :

0
Shares