Banner news

सिमसार क्षेत्रको उचित संरक्षण नभए वन्यजन्तुको संरक्षणमा समस्या बढ्ने

सिमसार क्षेत्रको उचित संरक्षण नभए वन्यजन्तुको संरक्षणमा समस्या बढ्ने


झापा । अव्यवस्थित विकास निर्माण र मावन गतिविधिले सिमसार क्षेत्र संकटमा परेको छ । सिमसार क्षेत्रको उचित संरक्षण नभए वन्यजन्तुको संरक्षणमा समस्या बढ्ने फरेष्ट एक्सनका डा.लीलानाथ शर्माले बताएका छन् ।

विश्व सिमसार दिवसको अवसरमा जिल्ला समन्वय समिति झापाले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले अव्यवस्थित विकास निर्माणले सिमसार क्षेत्र जोगाउन चुनौति बढ्दै गएको बताए । उनले सिमसार क्षेत्र पुरिदैं जानु बन्यजन्तु र मानव जीवनकै लागि राम्रो नहुने बताएका छन् । सिमसार सुक्यो भने वन्यजन्तुको संरक्षण हुन सक्दैन, शर्माले भने – यसले मानव जातिलाई पनि ठुलो असर गर्छ । फरेष्ट एक्सनको सहआयोजनामा भएको अन्तरक्रियाको क्रममा जलथल वन क्षेत्रको अवलोकन समेत गरिएको छ ।

वन क्षेत्रभित्र सिमसार संरक्षणमा बढ्दै गएको चुनौति र माइकेनिया झारले पारेको असर बारे सरोकारवालालाई अवगत गराइएको छ । ६३ सय हेक्टर क्षेत्रफलमा फैलिएको पाथीभरा कालिका सामुदायिक वनभित्र सिमसारको संरक्षणमा चुनौति देखिए पछि बन्यजन्तुलाई पानीको अभाव भइरहेको बताइएको छ । वन क्षेत्रभित्र खोज अनुसन्धान गर्दै आएका शर्माले पानीको अभावमा बन्यजन्तु मरिहरेको जानकारी दिएका छन् । उनले बन्यन्तुको संरक्षणका लागि सिमसार जोगाउन सबै क्षेत्रले ध्यान दिनुपर्ने धारणा राखेका छन् ।

सामुदायिक वनका अध्यक्ष चिरन्जीवी पौडेलले माइकेनीया झारका कारण वनक्षेत्रको विकास हुन नसकेको बताएका छन् । उनले वनजंगलका लागि सो झार हानिकारक रहेको बताए । तीब्र गतिमा फैलिरहेको माइकेनीया झारले वन विकासमा असर गरेको बताएका छन् । उनले राज्यले नै माइकेनीया झार नियन्त्रणमा चासो दिनुपर्ने बताए । मेक्सिकोबाट फैलिएको माइकेनीया झार पूर्व नेपालबाट पश्चिममा दाङसम्म फैलिएको बताइएको छ । उत्तरमा पहाडतर्फ समेत फैलिरहेको खोजकर्ताको भनाई छ । चितवनको निकुञ्जमा सकेत गैंडाको बासस्थानमा असर गरिरहेको माइकेनीया झारको बेलैमा नियन्त्रण गर्न आवश्यक रहेको बताइएको छ ।
वन क्षेत्रमा नकारात्मक असर गर्दै आएको सो झार फाँडेर मात्र नियन्त्रण गर्न नसकिएको स्थानीय उपभोक्ताले बताएका छन् । झार फाँडेर हुन्न, स्थानीय भन्छन्, – मेसिनले पेलेर मल बनाउन सकिन्छ ।

अन्तरक्रिया कार्यक्रममा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सामुदायिक वनका पदाधिकारीहरुको काम रुख मात्रै हेर्ने नभएको बताए । उनले समितिमा आवद्ध भएका सदस्यहरुले रुख मात्रै हेरेका कारण वन क्षेत्र र वन्यजन्तुको संरक्षण नभएको आरोप लगाए । गाउँपालिका वन क्षेत्रको विकासमा लगानी गरिहरेको बताउँदै उनले वनभित्रको चौतर्फी विकास गर्न उपभोक्ता समिति जिम्मेवार हुनुपर्ने बताएका छन् । वन समिति आम्दानीको केहि प्रतिशत वन विकास खर्च गनुपर्ने भए पनि पूर्वाधार मै केन्द्रीत भएको बताइएको छ ।

कार्यक्रममा सहभागी अन्य सामुदायिक वनका पदाधिकारीहरुले स्थानीय सरकारले सडक, कल्भर्ट निर्माणमा मात्र ध्यान दिएको आरोप लगाएका छन् । उनीहरुले सामुदायिक वनको विकासमा स्थानीय सरकारले चासो नदिएको गुनासो राखेका छन् । स्थानीय सरकारले वन क्षेत्रको विकासमा चासो दिनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमका अध्यक्ष सोमनाथ पोर्तेलले सामुदायिक वनको विकासमा सबैको हातेमालो जरुरी रहेको बताएका छन् । उनले स्थानीय सरकार र सरोकारवालाबिच समन्य खाँचो भएको बताए । सिमसार क्षेत्रको संरक्षणमा योजना बनाएर अघि बढ्न सामुदायिक वनलाई आग्रह गरेका छन् । उनले सामुदायिक वन र बन्यजन्तुको संरक्षणमा जिल्ला समन्वय समितिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares