इलाम । पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेपाली राजनीतिमा कहलिएको नाम हो । उनको जन्म इलाम जिल्ला सदरमुकाम नजिकैको गाउँ सविकको साखेजुङ्ग गाविस वडा नं. ४ मा वि.सं. २००६ साल चैत्र ६ गतेका दिन भएको हो । पुङ्कनाथ र मधुमाताका १३ सन्तान मध्ये खनाल सातौ सन्तान भएकाले बुढापाकाहरुले गाउँमा उनलाई ‘जन्तरे’ भनेर पनि चिन्ने जान्ने गर्छन् ।
देशको ३५ औं प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गरेका खनालले दुई पटक गरेर एक दशक पार्टीको नेतृत्व गरिसकेका छन् । राष्ट्रपति बन्न पाउँछु कि भन्ने लोभमा उनी जब प्रचण्ड र माधव नेपालको स्वार्थ समूहमा मिसिन पुगे त्यसपछि उनको जन्मभूमि पहिलेको साखेजुङ्ग गाविस र अहिलेको इलाम नगरपालिकाको वडा नं. १ का सबै नेता कार्यकर्ताहरुले उनको साथ छाडेका छन् ।
साखेजुङ्गकै चन्द्रबहादुर थापा अहिले ८७ बर्ष पुगे । खनालभन्दा पहिले कम्युनिष्ट भएका थापाले प्रचण्डको पछि लागेको देख्दा दुःख लागेको बताए । ‘जन्तरे भाई चिनजान थ्यो भन्न नि मन नलाग्ने भए’ उनले भने– ‘भिरमा जाने गोरुलाई रामराम मात्रै भन्न सकिन्छ ।’ उनलाई साथ दिन नसकिने भन्दै उनले भने– ‘उनलाई छिट्टै पछुतो हुन्छ र हामी भएकैमा आउँछन् ।’
उबेला गाउँमा खनालसँगै राजनीतिक काम गरेका जेष्ठ कम्युनिष्ट गर्जसिंह कटुवालले जनताले दिएको मत र आफूहरुको समर्थनमाथि घात गरेको बताउँछन् । इलाममा खनालका सबैभन्दा विश्वास पात्र मध्येका नेकपा इलाम जिल्ला सचिवालय सदस्य पर्शुराम भण्डारी ओली समूहमा लागेका छन् । ‘परिवार र नातागोता बाहेक पार्टी नदेख्ने शैलीले वाक्कदिक्क भएर हामीले साथ छाड्यौं’ भण्डारीले भने– ‘झलनाथबाट देश होइन अब गाउँ पनि बन्ने सम्भावना देखिएन ।’ खनाल र उनको परिवार भित्रकै मानिसहरुको नाजायज हस्तक्षेपले साखेजुङ्गमै सञ्चालित सिटिईभिटी कलेज पनि समस्याग्रस्त बनेको भण्डारीले बताए ।
खनालका विश्वास पात्र र उमेरले पनि उनी सँगैका नेकपाका जिल्ला सदस्य एवं इलाम नगरपालिका वडा नं. १ का वडाध्यक्ष अम्बिका गौतम अब खनालको पछि लाग्नुको कुनै अर्थ नभएको बताउँछन् । ‘सामन्तहरुको अखडा साखेजुङ्गमा हिजो एमालेको सूर्य चिन्ह फहरायौं, वडा अत्याधिक मतले जित्यौं’ गौतमले भने– ‘तिनै मतदातालाई लत्याएर जेएन आज प्रचण्डको पछि लागेका छन् । तर हामीसँगै जान सकेनौं ।’ खनालले पचासौं पटक फोन गरेको र आफूले राजनीतिक बाटो नै फरक भयो भनेपछि फोन गर्न छाडेको उनले बताए ।
साखेजुङ्ग सिंगो रुपमा अहिले विकास, समृद्धि र स्थिरताको पक्षमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको निर्णय र चालेको कदमको पक्षमा एकजुट भएको छ । वडामा पार्टीको सपथग्रहण कार्यक्रममा बिशेष अतिथि बनेर पुगेका नेकपा इलामका युवा नेता, जिल्ला कार्यालय सचिव नवराज शंकरले इलाममा खनालले सिटिइभिटी कलेज ल्याए, एयरपोर्ट शिलन्यास गरे, बाटो, पुल, विजुली बनाए भन्दै यत्रो बर्ष प्रचार गरियो त्यो सब त मिस्त्रीले पो गरेको रहेछ भन्दा सयौंको संख्यामा उपस्थित नेता, कार्यकर्ताको पंक्तिमा हाँसोको फोहोरा छुट्यो । उनले थपे– ‘यतिका समय नेता बनाएको, नेता मानेको मान्छेले हामीहरु सबैलाई फ्लप ख्वाइदिए ।’
साखेजुङ्गका पुराना कम्युनिष्ट नेताहरु चन्द्रबहादुर थापा र गर्जसिंह कटुवाल खनाललाई साथ दिन नसकिने भन्दै ओली पक्षमा उभिएका छन् । खनालका विश्वास पात्र लोकप्रिय युवा नेता एवं पार्टी जिल्लाका सचिवालय सदस्य पर्शुराम भण्डारी, अर्का विश्वास पात्र एवं लोकप्रिय नेता वडावध्यक्ष गौतम पनि ओलीतिरै खुलेर लागेका छन् । पुराना कम्युनिष्ट नेताहरु शुभराज खिम्दुङ्ग, देवप्रकाश राई र देशबहादुर राई ओली समूहमै छन् भने युवा नेताहरु जिल्ला सदस्य, अनेमसंघ जिल्ला सचिव एवं इलाम नगर कार्यपालिका सदस्य चित्रमायाँ गुरुङ्ग र गाउँमा लोकप्रिय युवा नेता रमेश राई, अनेरास्ववियू केन्द्रीय सदस्य शोभना राई पनि ओलीको कमदको पक्षमा उभिएका छन् । एक जना बाहेक वडामा निर्वाचित सबै जनप्रतिनिधिहरु खड्गबहादुर गुरुङ्ग र पवित्रा रसाईली ओली समूहमा खुलेरै लागेका छन् ।
आफै जन्मेको गाउँमा अत्यन्तै कमजोर देखिएका खनालको पक्षमा छिटफुट मात्रै समर्थन र सहयोग देखिन्छ । हिजो माओवादी केन्द्रमा भएका कतिपय नेता, कार्यकर्ताहरुले ओलीलाई नै साथ दिएका छन् । साविक एमालेमा भएकाहरुमध्ये खनाललाई उनकै घरभित्रका दाजु पोटनाथ खनाल, भाई दाताराम खनाल र वडामा निर्वाचित सदस्य टेकबहादुर कटुवालको मात्रै साथ देखिन्छ ।
इलाममा अधिकांश ओलीतिर, छिटफुट प्रचण्ड–माधव–झलनाथतिर
इलाम जिल्ला वामपन्थीहरुको गढ हो । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटै क्षेत्र नेकपाले जितेको छ । यसैगरी १० वटा स्थानीय तहहरुमध्ये सबै चार वटा नगरपालिकाको प्रमुख उपप्रमुख र छ वटा गाउँपालिका मध्ये तीनमा अध्यक्ष र पाँचमा उपाध्यक्ष नेकपाले जितेको छ । उपाध्यक्ष जितेको गाउँपालिकामा पनि नेकपाकै स्पष्ट बहुमत छ । स्थानीय तहको निर्वाचन पार्टी एकता पूर्व नै भएकाले सबै तहका उम्मेद्वाहरु साविकको नेकपा (एमाले) बाट विजयी भएका हुन् । संघमा निर्वाचित दुवै जना साविक एमालेबाट निर्वाचित हुन् भने प्रदेशमा निर्वाचितहरुमध्ये धिरेन्द्र शर्मा रमण मात्रै साविकको माओवादी केन्द्रबाट निर्वाचित हुन् । जिल्ला समन्वय समितिमा सबै साविक एमालेका जनप्रतिनिधिहरुले जितेका थिए ।
पार्टीको एकतापूर्व इलाम जिल्ला साविक माओवादी केन्द्रको अत्यन्तै कमजोर जनमत भएको भूगोल हो । संसदीय निर्वाचनमा साविकको नेकपा (एमाले) ले समानुपातिकतर्फ ६१ हजार छ सय ३० मत प्राप्त गरेको थियो भने साविक माओवादी केन्द्रले समानुपातिकतर्फ सात हजार दुई सय २६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले ४२ हजार तीन सय ९२ मत प्राप्त गरेको छ । यसैगरी ८१ वटा वडा रहेको इलाममा ४७ जना वडाध्यक्ष सहित जम्मा चार सय २५ जनप्रतिनिधिहरुमध्ये दुई सय ८८ जना (६७.७६ प्रतिशत) साविक एमालेबाट जितेका छन् भने माओवादी केन्द्रबाट जिल्लाभर एक जना वडाध्यक्ष र एक जना वडा सदस्य मात्रै निर्वाचित भएका छन् ।
विगठित संघीय संसद्मा क्षेत्र नं. १ बाट चुनाव जितेका झलनाथ खनाल प्रचण्ड–नेपाल समूहमा छन् भने क्षेत्र नं. २ बाट चुनाव जितेका संविधानसभा अध्यक्ष एवं संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ्ग ओली समूहमा छन् । प्रदेश सांसद्हरुमध्ये जिल्ला अध्यक्ष समेत रहेका रामबहादुर मगर र काजीमान कागते ओलीतिर तथा धिरेन्द्र शर्मा रमण र खिनु लङ्वा प्रचण्ड–नेपाल–खनाल समूहमा खुलेका छन् । जिल्ला समन्वय समितिमा निर्वाचित भएका सदस्य पूर्ण बस्नेत बाहेक प्रमुख गणेशप्रसाद बरालसहित सबै पदाधिकारी, सदस्यहरु ओली पक्षमा लागेका छन् ।
इलाम नगर प्रमुख महेश बस्नेत, देऊमाईका प्रमुख सूर्य पोख्रेल र माईका प्रमुख दिपक थेवे ओली पक्षमा तथा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई प्रचण्ड–नेपाल–खनाल पक्षमा लागेका छन् । गाउँपालिका अध्यक्षहरु मध्ये चुलाचुलीका अध्यक्ष प्रदीपचन्द्र राई ओली पक्षमा तथा सन्दकपुरका अध्यक्ष उदय राई र माईजोगमाईका अध्यक्ष जितबहादुर राई राई प्रचण्ड–नेपाल–खनाल पक्षमा लागेका छन् । चार वटा नगरपालिकामा निर्वाचित उपप्रमुखहरु र पाँच गाउँपालिकामा निर्वाचित उपप्रमुख र उपाध्यक्षहरु सबै जना ओली पक्षमा लागेका छन् ।
विगतमा एकता हुँदा १४७ जनाको जिल्ला कमिटी रहेकोमा साविक एमालेबाट ९५ जना र माओवादी केन्द्रबाट ५२ जनाको सहभागिता रहेको थियो । अध्यक्ष सहित बहुमत संख्या ओली पक्षमा खुलेको छ भने जिल्लामा राई प्रचण्ड–नेपाल–खनाल पक्ष अल्पमतमा परेको छ । जिल्ला कमिटीका साविक एमालेका ९५ जनामध्ये १६÷१७ जना मात्रै र साविक माओवादी केन्द्रका ५२ जनामध्ये ४६÷४७ जना मात्रै प्रचण्ड–नेपाल–खनाल पक्षमा खुलेका छन् भने बाँकी ओली पक्षमा लागेका छन् ।
जिल्लामा लामो समयदेखि खनाल समूहमा रहेका जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सरकारका राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सांसद् काजिमान कागते, इलामका पूर्व उपमेयर कृष्णप्रसाद श्रेष्ठ, माई नगरका प्रमुख दिपक थेवे, जिसस उपप्रुमख चित्रकला बराईली, सन्दकपुरकी उपाध्यक्ष शोभा पराजुली, उमेश गुरुङ, जसबहादुर लुङ्गेली, गोपाल नेपाल, गोपाल रिजाल, जेष्ठ कम्युनिष्ट नेताहरु हरि पराजुली, सनथ पराजुली, डम्बर उदास तथा हेमन्त राई, प्रकाश पराजुली, बुद्धिबहादुर ढकाल, उपेन्द्र न्यौपाने, हेम लायो मगर, डिक बम्जन, रगुन गुरुङ्ग, लेखनाथ दाहाल, सुजन नेपाल, बिष्णु भट्टराई लगायत सयौं नेता कार्यकर्ताहरुले खनाल प्रचण्ड–माधव पक्षमा लागेपछि उनको साथ छाडेर ओली पक्षमा उभिएका छन् । इलाम लामो समयअघिदेखि ओलीको बलियो पकड भएको जिल्ला हो ।







प्रतिक्रिया