झापा । सरकारले झापा आन्दोलनका योद्धा चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार काठमाडौंमा आयोजित सरकार र नेकपा विप्लप समूहसँग गरिएको सहमतिमा हस्ताक्षर कार्यक्रममा सो कुरा जानकारी दिए ।
उनीहरुलाई २०२९ साल फागुन २१ गतेको केही महिना अघिपछि चन्द्र डाँगी र राम प्रधानलाई छ तत्कालिन राज्यले हत्या गरेको थियो । दुवैलाई वर्तमान सरकारले सहिद घोषणा गरेको प्रधानमन्त्रीले जानकारी दिएका हुन् । डाँगीलाई ०२९ साल साउन २० गते घर अगाडि प्रहरीले गोली हानी हत्या गरेको थियो ।

फागुन २१ मा आन्दोलनका अगुवाहरुलाई प्रहरीले गोली हानी हत्या गरे पछि पार्टीलाई बलियो बनाउने अभियानमा चन्द्र डाँगी क्रियाशिल थिए । विर्तामोड –९ नडियावारीमा बस्ने डाँगीकै गाउँमा आन्दोलनका अगुवाहरु बिच बैठक बस्ने गरेको थियो । फागुन २१ को हत्या पछि पार्टी कमजोर हुँदा उनीहरुले संगठनलाई विस्तार र प्रभावशाली बनाउन भूमिका खेल्दै आएका थिए । साउन २० मा बैठक बस्न लागेको सूचना पाएपछि प्रहरीले घेरा हानेको थियो । प्रहरीले डाँगीलाई आत्मसमर्पण गर्न भने पनि उनले नगरेपछि गोली हानी हत्या गरिएको समकालिनहरु बताउँछन् ।
अर्का योद्धा राम प्रधानलाई झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका थियो । प्रधानलाई इलामको शान्तिपुरमा एक घरको कोठाभित्र आश्रय लिएर सुतेको अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइरोले घोचीघोची हत्या गरेका थिए । प्रधानलाई हत्या गरिएको सेल्टरबाट गिरफ्तार गरिएका अर्का योद्धा सानो दुर्गा अधिकारीलाई १७ वर्ष जेलमा राखिएको थियो । झापा विद्रोहका नेता मोहनचन्द्र अधिकारी सबैभन्दा बढी १८ वर्ष जेल बसेका थिए ।
सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई २०७२ सालमा सरकारले सहिद घोषणा गरे पनि सोही विद्रोहका बेला हत्या गरिएका झापा बुद्धशान्तिका प्रधानलाई सहिदको सूचीमा नाम समावेश गर्न छुटेको थियो । प्रधानलाई घोचीघोची मारिएको समकालिनहरु बताउँछन् ।
डाँगी र प्रधानका परिवारले जनताको मुक्तिको आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका दुवै योद्धालाई शहिद घोषणा नगरेकोमा गुनासो गर्दै आएका थिए । वर्तमान ओली सरकारले परिवारको माग सम्बोधन गरेको छ ।







प्रतिक्रिया