सम्पादकीय

स्वदेशी फूललाई प्राथमिकता दिऔँ

स्वदेशी फूललाई प्राथमिकता दिऔँ


सम्पादकीय
तिहार झिलिमिलि बत्ती, फूल र मालाको पर्व हो । यही पर्वलाई लक्षित गरेर झापाका कृषकले व्यावसायिक रूपमा फूल खेती गर्दै आएका छन् । तर, स्वदेशी उत्पादनले बजार पाउने सुनिश्चित नहुँदा उनीहरू चिन्तित छन् । तिहार नजिकिँदै गर्दा भारतीय फूलको आयात रोक्न माग गर्दै कृषकले जिल्ला प्रशासन कार्यालयमा सातबुँदे ध्यानाकर्षण पत्र बुझाउनु यसैको सङ्केत हो । कृषकको मागलाई सामान्य आग्रहका रूपमा मात्र लिनु हुँदैन ।

झापामा करिब १० बिघा क्षेत्रफलमा फूलखेती भइरहेको छ । कृषकले लगानी, श्रम र समय खर्चेर उत्पादन गरेको फूलले बजार नपाउने तर भारतीय फूलले बजार ओगट्ने अवस्था आउनु विडम्बनापूर्ण हो । स्वदेशी उत्पादनले बजार नपाउँदा कृषकको लगानी जोखिममा पर्छ । भविष्यमा व्यावसायिक फूल खेतीप्रतिको आकर्षण पनि घट्छ । त्यसैले स्वदेशी फूलको बजार सुनिश्चित गर्नु राज्यको निशर्त प्राथमिकत दायित्व हो ।

यसका लागि भारतीय फूलको आयातमा आवश्यक नियमन, सीमा तथा भन्सारमा प्रभावकारी अनुगमन र स्वदेशी उत्पादनको माग तथा आपूर्तिबिच सन्तुलन कायम गर्न जरुरी छ । स्वदेशी उत्पादनले माग धान्न सक्ने अवस्थामा आयात नियन्त्रण गर्नुपर्छ । साथै, फूल र मालाको मूल्य निर्धारणमा एकरूपता कायम गर्दै कृषकले उचित मूल्य पाउने र उपभोक्ताले पनि मनपरी मूल्य तिर्नुपर्ने अवस्था नआउने व्यवस्था गर्नुपर्छ ।

फूलको बजार विस्तारमा सरकारसँगै सामाजिक संघसंस्था, विद्यालय, सहकारी र अरु संघ संस्थाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । सार्वजनिक समारोह, सभा, सम्मेलन तथा सम्मान कार्यक्रममा प्रयोग गरिने माला स्वदेशी फूलबाट तयार गरिएका छन् भन्ने सुनिश्चित गर्न सकिन्छ । यस्ता संस्थाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिए कृषकको मनोबल बढ्नुका साथै स्थानीय उत्पादनको बजारसमेत विस्तार हुन्छ ।

आयातित फूल तथा मालाको गुणस्तर र सुरक्षामा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ । फूल ताजा राख्न हानिकारक रसायन प्रयोग गरिएको आशङ्का भए त्यसको परीक्षण र अनुगमन आवश्यक छ । प्रमाणबिना सबै आयातित फूलमा हानिकारक विषादी प्रयोग भएको निष्कर्ष निकाल्नु उचित हुँदैन । स्वदेशी उत्पादनको संरक्षण केवल कृषकको हितको विषय मात्र होइन, यो स्थानीय अर्थतन्त्र र आत्मनिर्भरतासँग पनि जोडिएको संवेदनशील सवाल हो । तिहारमा स्वदेशी फूल प्रयोग गर्ने संस्कार विकास गरौँ । कृषकको माग सम्बोधन गर्न सम्बन्धित निकायले तत्काल पहल गरून् ।

शेयर गर्नुहोस :

54
Shares