Banner news

झापाका २३२ घरपरिवारको रोकिएको लालपुर्जा विवरण सच्याएर कार्यान्वयनमा ल्याउने

झापाका २३२ घरपरिवारको रोकिएको लालपुर्जा विवरण सच्याएर कार्यान्वयनमा ल्याउने


झापा । विगतमा सुकुम्बासी आयोगमार्फत लालपुर्जा पाएर पनि लामो समयदेखि जग्गा उपभोग र स्वामित्व अधिकारबाट वञ्चित हुँदै आएका दमक क्षेत्रका २३२ जना घरपरिवारको लालपुर्जा कार्यान्वयनमा आउने भएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले साविकमा पुर्जा वितरण भई दोहोरो श्रेस्ताका कारण अड्किएका जग्गाधनीहरूको विवरण सच्याएर पुर्जालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाएको हो ।

दमक नगरपालिकाको समन्वय र सहकार्यमा उल्लेखित २३२ जना जग्गाधनीहरूको नामावली सार्वजनिक गर्दै जिल्ला प्रशासनले विवरण परिमार्जन तथा सच्याउने कार्य थालिएको जनाएको छ । साविकको सुकुम्बासी आयोगले सर्वसाधारणलाई लालपुर्जा उपलब्ध गराए पनि मालपोत कार्यालयमा रहेको आधिकारिक स्रोत (श्रेस्ता) मा भने नेपाल सरकारकै नाम कायम रहन पुगेको थियो । जसका कारण सर्वसाधारणको हातमा पुर्जा भए पनि मालपोतको अभिलेखमा सरकारी स्वामित्व नै देखिँदा दोहोरो श्रेस्ताको जटिल कानुनी समस्या उत्पन्न भएको थियो ।

अभिलेख र हातमा रहेको पुर्जाबीच तालमेल नमिल्दा भूस्वामित्वको कानुनी अधिकार प्रयोग गर्नबाट सर्वसाधारण वञ्चित हुँदै आएका थिए । दमक नगरपालिकामार्फत सूचना प्रकाशित गरी नामावली सार्वजनिक गरिएसँगै अब मालपोत कार्यालयको अभिलेखमा रहेको त्रुटिपूर्ण विवरण सच्याएर व्यक्तिको नाममा श्रेस्ता कायम गरिनेछ । यो प्रक्रिया पूरा भएसँगै विगतमा प्राप्त भएको तर कार्यान्वयन हुन नसकेको २३२ जनाको लालपुर्जाले पूर्ण कानुनी मान्यता पाउनेछ र स्थानीयले आफ्नो जग्गाको आधिकारिक स्वामित्व प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

54
Shares