विर्तामोड । वैदेशिक रोजगार विभाग काठमाडौंले विर्तामोडमा रहेको मेनपावरहरुमा छापा हानेको छ । आज दुर्गादेवी लिम्बुले सञ्चालन गर्दै आएको मेमोसा ओभरसिजको बिर्तामोड शाखा कार्यालयमा छापा हान्दै शिल गरेको छ ।

विभागले झापामा पहिलो पटक विर्तामोडको मेमोसामा अनुगमनका लागि पुगेको थियो । अनुगमनका क्रममा अन्तरवार्ता लिइरहेको भेटाएपछि विभागले आवश्यक कागजात मागेको विभागका मातृका सापकोटाले जानकारी दिए । मेमोसाले कतारका लागि कामदार पठाउन अन्तरवार्ता लिइरहेको थियो, सापकोटाले भने – ‘जुन डिमाण्डमा अन्तरवार्ता लिइदै थियो, त्यो अवैधानिक छ । त्यो डिमाण्ड मेमोसाको होइन ।’
कुनै कामदारसँग अन्तरवार्ता लिन डिमाण्डहरु अनिवार्य विज्ञापन गर्नुपर्ने, पूर्वस्वीकृति लिनुपर्ने विभागले जनाएको छ । सो मेनपावरमा कागजात माग्दा समेत उपलब्ध गराउन नसकेपछि थप अनुसन्धानका लागि शिल गरिएको सापकोटाले जानकारी दिए । सो मेनपावरमा शिल गर्न थालेपछि आसपासमा रहेका धेरै जसो मेनपावरहरु बन्द गरिएका छन् ।
उनले झापाका मेनपावरहरुले पूर्व स्वीकृति नलिने, अवैध रुपमा अन्तरवार्ताहरु लिने र अवैध रुपमै कारोवार गरिरहेको गुनासो आएपछि विभागले पूर्वमा अनुगमन थालेको जानकारी दिए । सापकोटाले वैदेशिक रोजगारीमा जानेहरुलाई पूर्वस्वीकृति लिएको जानकारी लिन आग्रह गरेका छन् । विदेश जानका लागि आवश्यक जानकारी विभागको वेभ साइटमा राखिएको उनको भनाई छ । सरकारले तोकेको भन्दा धेरै शुल्क नतिर्ने र तिर्नु परेमा विभागलाई जानकारी गराउन भनिएको छ ।








प्रतिक्रिया