विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको झापाको कार्यालयमा एमाले लेखिएको छ । मंगलवार विहान कोष्टको (ने क पा) लाई मेटाएर एमाले लेखिएको युवा नेता शिव ढुङ्गेलले जानकारी दिए । सर्वोच्च अदालतले केपी ओली र प्रचण्डको नेकपालाई आधिकारिकता नदिए पछि पूर्ववत रुपमा एमाले र माओवादी केन्द्र व्यूँतिएको छ ।

तत्कालिन एमालेको विर्तामोडस्थित पार्टी कार्यालयमा पार्टी एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको थियो । नेकपा लेखिएको ठाउँमा एमाले लेखेर नयाँ बोर्ड समेत थपिएको छ । एमाले लेखिएको बोर्ड राख्न सहभागी भएका एमाले नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो । बोर्ड राखे पश्चात नेताहरुले सहभागी कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।
सहभागीलाई सम्बोधन गर्दै एमाले झापाका अध्यक्ष चिन्तन पाठकले पार्टी अध्यक्ष केपी ओलीलाई अप्ठ्यारो पर्दा अर्कातिर उभिएका नेता कार्यकर्तालाई एमालेमा फेरि रेड कार्पेट ओच्छ्याएर स्वागत गरिने बताएका छन् । उनले एमालेमा फर्किएर केपी ओली विरुद्ध कुनै पनि षड्यन्त्र गरेमा त्यसको प्रतिवाद गर्ने बताए । अध्यक्ष पाठकले एमालेको आन्दोलनलाई शसक्त बनाउनका लागि पार्टीमा फर्किनेहरुलाई इमान्दारिताका साथ स्वागत गर्ने बताएका हुन् । अब पार्टीमा फेरि ओली विरुद्ध कुनै षड्यन्त्र गर्छौ भन्ने सोच भए त्यसलाई त्याग गरेर मात्रै पार्टीमा फर्किन आग्रह गर्छु, पाठकले भने ।
कार्यक्रममा नेता खगेन्द्र नेपालले सर्वोच्च अदालतले कार्यकर्ताको अपेक्षा अनुरुप फैसला गरेकोमा धन्यवाद दिए । उनले पार्टीलाई थप जनताको जिम्मेवार पार्टीको रुपमा स्थापित गर्दै जानुपर्ने बताएका छन् । नेपालले भने, एमालेभित्र कुनै षड्यन्त्र नगर्न आग्रह समेत गरेका छन् । पुराना नेता मन कुमार गौतमले पार्टी एकताका नाममा असान्दर्भिक गतिविधि भएकाले यो स्थिति आइपरेको बताए । उनले सवोच्चको फैसला जनताको पक्षमा, न्यायको पक्षमा भएकोमा खुशी व्यक्त गरे । नेता गौतमले अब पार्टीलाई जनताको बिचमा रचनात्मक रुपमा लागि पर्न जिम्मेवारी थपिएको बताएका छन् ।








प्रतिक्रिया