Banner news

वाणिज्य संघलाई अव्यवस्थित रुपमा चल्न नदिने : महासचिव मैनाली

वाणिज्य संघलाई अव्यवस्थित रुपमा चल्न नदिने : महासचिव मैनाली


विर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका नवनिर्वाचित महासचिव अर्जुन मैनालीले वाणिज्य संघलाई विगतमा जस्तो अव्यवस्थित रुपमा चल्न नदिने बताएका छन् । आगामी दिनमा आम व्यवसायीको हितमा व्यवस्थित रुपमा काम गर्दै जाने बताए ।

संयुक्त व्यवसायिक प्यानलको प्रचार प्रसार समितिले मंगलवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव मैनालीले संघलाई व्यवसायिको पक्षमा काम गर्न जिम्मेवार बनाउने बताए । उनले वाणिज्य संघमा रहेका तमाम विकृतिलाई अन्त्य गर्न आफ्नो नेतृत्व लागि पर्ने बताएका छन् । महासचिव मैनालीले बिर्तामोडमा वाणिज्य संघको प्रभावकारितालाई माथि उठाउने बताउँदै संघबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । संघमा रहेको फर्जी सदस्यतालाई पहिलो बैठकबाटै हटाउदैं विशुद्ध व्यवसायीलाई मात्रै संघ आवद्ध गराउने मैनालीको भनाई छ । उनले निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

सोहि प्यानलबाट अध्यक्षको उम्मेद्वार बनेका सुवास भट्टराईले सहकार्य र समन्वय गर्दै अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरेका छन् । उनले निर्वाचनमा जीतहार स्वभाविक भएको भन्दै आगामी दिनमा व्यवसायीको पक्षमा काम गर्न आफ्नो उपस्थिति थप प्रभावकारी हुने बताए छन् । भट्टराईले विर्तामोड वाणिज्य संघमा लोकतान्त्रिहरुको एकछत्र उपस्थितिलाई तोडिएको भन्दै व्यवासायीको हितमा काम गर्न नवनिर्वाचितलाई सूझाव दिए । आफुले निर्वाचनमा विजयी हासिन गर्न नसके पनि व्यवसायीको समस्यामा सधैं उपस्थित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले संयुक्त प्यानलबाट विजयी बनेका नेतृत्वलाई संघमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

शुभकामना आदान–प्रदान कार्यक्रममा पत्रकार उमाकान्त खनाल, सुब्रत न्यौपाने, रञ्जित प्रसाई, प्रदीप परियार, विनोद पाण्डे,गोपाल काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares