विराटनगर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने पुरस्कृत भएका छन् । पूर्व अध्यक्ष झा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७६ र पूर्व केन्द्रीय सदस्य न्यौपाने सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७६ बाट शुक्रबार पुरस्कृत भएका हुन् ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले विशेष कार्यक्रम आयोजना गरी सो पुरस्कार प्रदान गरेको हो । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दुवैलाई पुरस्कार, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
सूचनाको अधिकारबारे जनचेतना अभियानमा संलग्न भएकाहरुलाई हरेक वर्ष प्रदान गरिदै आएको पुरस्कार यस पटक पूर्व अध्यक्ष झा र सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ । २०४४ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका झालाई ५० हजार ५१ रुपियाँ राशि र न्यौपानेलाई १५ हजार १५ रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।
सूचनाको अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहन र योगदान गर्नेहरुलाई सम्मान गर्ने उद्देश्यले २०७३ सालमा केदारबहादुर बस्नेतले नेपाल पत्रकार महासंघ मोरङ शाखामा सो पुरस्कार स्थापना गरेका थिए । यसअघि विनय कसजू, तारानाथ दाहाल, र शिवगाउँले यस पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै प्रदेश प्रमुख प्यासीले समाचार जनताको बकपत्रको रुपमा जस्ताको त्यस्तै प्रवाह हुनुपर्ने बताए । जनताको बकपत्रनै समाचारको रुपमा प्रवाह हुन्छ भनेर नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उनको भनाई थियो ।
समाज रुपान्तरण र परिवर्तनका लागि पत्रकार बलियो पिलर हो भन्दै प्रदेश प्रमुख प्यासीले भन्नुभयो ‘पत्रकार यस्तो पिलर रहेछ, मोरल बुस्ट भएको पिलर रहेछ । रेक्ट्रोफिटिङ गरेपछिको झैं भुकम्पले पनि नभत्काउने बलियो पिलर रहेछ । त्यो कुरा मैले आन्दोलनका क्रममा पछि अनुभूत गरेँ ।’
पत्रकारिता देश, जनता र गणतन्त्र र संघीयताको प्रतिकुल नहुने गरी त्यसको हितमा गर्नुपर्ने प्रदेश प्रमुख अधिकारीले बताएका छन् । उनले मुलुकको परिवर्तन कुनै एक पक्षले वा नेताहरुको भाषणबाट मात्र प्राप्त नभएको भन्दै सबैको योगदानबाट सम्भव भएको बताएका छन् ।







प्रतिक्रिया