विर्तामोड । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार शिव गाउँलेले नयाँ पत्रकारलाई पूर्वाग्रह विना यो पेशामा क्रियाशिल हुन आग्रह गरेका छन् । उनले अघिल्ला पुस्ताले गरेको गल्ती दोहो¥याउन नयाँ पुस्तालाई छुट नभएको बताए ।
पत्रकार महासंघ झापाले शनिवार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सहभागी नयाँ पत्रकारलाई प्रशिक्षित हुने गरी मन्तव्य राख्दै गाउँलेले पूर्वाग्रह राखेर पत्रकारितामा प्रवेश नगर्न आग्रह गरेका हुन् । उनले अघिल्ला पुस्तामा पूर्वाग्रह भएको भन्दै अब त्यसरी नै पत्रकारिता नचल्ने बताए । पत्रकार महासंघको सदस्यता पाउने नयाँ पत्रकारलाई उनले पत्रकार बन्नुको उदेश्य स्पष्ट हुनुपर्ने बताएका छन् । गाउँलेले भने, किन पत्रकार भइरहेका छौं ? यसको जवाफ हुनुपर्छ । लक्ष्य स्पष्ट भए मात्र पत्रकारिता क्षेत्रको चुनौति सामना गर्न सकिने उनको भनाई थियो ।

पत्रकारितामा प्रवेश गरेर राजनीति गर्ने सोच भएमा त्यस्तो व्यक्ति राजनीतिक र पत्रकारिता दुवै क्षेत्रमा सफल बन्न नसक्ने गाउँले बताउँछन् । पुरस्कार वितरण समारोहमा वरिष्ठ पत्रकार गाउँलेले पत्रकारितामा अथाह संभावना भएको भन्दै नयाँ उत्साह र जाँगरका साथ काम गर्न सूझाव दिएका छन् । उनले पत्रकारहरुमा अल्छीपना बढ्दै गएको भन्दै अर्काको फेसबुक र ट्वीटर हेरेर समाचार लेख्नेहरु बढेको बताए । पत्रकारितामा दक्षता र जाँगर चाहिने भन्दै सबै पत्रकारलाई पेशाप्रति जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन् ।
पत्रकारितामा प्रवेश गरेर तथ्यलाई गोलमोटोल गरिनु आफुलाई बचाउनु मात्र भएको तर्क गरे । उनले जाँगर गरेर समाचार लेख्नेहरुका लागि पर्याप्त स्रोत साधनको व्यवस्था गर्न समाचार संस्थाहरु तयार रहेको बताए । गाउँलेले पछिल्लो समय प्रविधि चुनौति भएको बताएका छन् । उनले भने, अल्छीपनले चुनौतिलाई थपेर जानेछ ।







प्रतिक्रिया