Banner news

झापामा मानव मलमुत्रको माग बढ्दो

झापामा मानव मलमुत्रको माग बढ्दो


विर्तामोड । आधुनिक प्रविधिबाट उठाइने मानव मलमुत्रको माग बढेको छ । शौचालय भरिएपछि मेसिनको प्रयोग गरेर उठाइने मलमुत्रको माग बढ्दै गएको सेफ्टी ट्याङकी सञ्चालकहरुले बताएका छन् ।

झापाको दमक, कनकाई, विर्तामोड, काँकरभिट्टा र भद्रपुरमा सेफ्टी ट्याङ्की सञ्चालन गर्दै आएका सञ्चालकहरुले मानव मलमुत्र व्यवस्थापनमा समस्या नभएको बताएका छन् । उनीहरुले मानव मलमुत्रको उपयोगिता थाहा पाउनेहरुले माग गर्दै आएको बताए ।

विशेष गरी किसानहरुले मानव मलमुत्र माग गर्ने गरेका छन् । सुरुङामा सेफ्टी ट्याङ्की सञ्चालन गर्दै आएका राजेश शाहले किसानले माग गरे बमोजिम उपलब्ध गराउन नसकेको बताए । उनले हरेक दिनजसो किसानले मानव मलमुत्र माग गर्ने गरेको जानकारी दिए । शाहका अनुसार किसानले कृषि बाली उत्पादनमा सो मल प्रयोग गर्ने गरेका छन् । किसानले बाँझो खेतमा समेत मलका लागि प्रयोग गरेर माटोलाई उर्वर बनाउने गरेको जानकारी दिए । किसानले माग नगरेको खण्डमा मेचीनगरले स्थापना गरेको प्लान्टमा दिने गरेको शाहको भनाई छ । किसानलाई निशुल्क दिन्छौ, शाहले भने – प्लान्टलाई दिँदा उल्टै पैसा तिर्नुपर्छ ।

कतिपय किसानले इन्धन सहयोग बापत केहि रकम समेत दिने गरेका छन् । २ हजार देखि २५ सयसम्म लिएर उठाइने मलमुत्र किसानलाई निशुल्क दिने गरिएको बताए । भर्खरै निर्माण व्यवसायी शेर बहादुर थापालाई घैलाडुब्बाको मकै फर्ममा प्रयोग गर्न मलमुत्र उपलब्ध गराइएको छ । बाख्राको घाँसका लागि थापाले धेरै मात्रामा मकै लगाएका छन् ।

सञ्चालकहरुका अनुसार निजी वन सञ्चालकहरुले समेत मलमुत्र माग गर्दै आएका छन् । सुकेको विरुवा वा कृषि उत्पादनमा मानव मलमुत्र प्रयोग गर्दा हरियो हुँदै विरुवा सुधार हुने गरेको बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares