मुख्य समाचार

शंकरको निधनले दलित आन्दोलनलाई ठुलो क्षति

शंकरको निधनले दलित आन्दोलनलाई ठुलो क्षति


विर्तामोड । दलित अभियन्ता एवम् नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको निधनले दलित समुदायलाई अतुलनीय क्षति भएको उनका सहकर्मीहरुले बताएका छन् । दलित समुदायका अभियन्ताहरुले शंकरको निधनले समग्र दलित आन्दोलनले कुशल अगुवा गुमाएको बताए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश १ कमिटीले भर्चुअल माध्यमबाट आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै अधिकांश अभियान्ताहरुले दलित आन्दोलनमा शंकरको अभाव सधैं रहने बताएका छन् । शंकर एमालेको प्रभावशाली नेता र दलित समुदायको अगुवा थिए ।

शंकरको परिचय गराउँदै नारायण चँदाराले नवराज शंकर बौद्धिक एवम् मेहनती व्यक्तित्व गुमाउनु पर्दा आन्दोलनलाई ठुलो क्षति भएको बताए । उनले शंकरको निधनले इलाम नै स्तब्ध भएको बताएका छन् । दलित समुदायको भरोसा बन्दै गइरहेका शंकरको कोरोना संक्रमणका कारण निधन भएको थियो । पूर्व नेपालमा प्रभावशाली र क्षमतावान युवाको रुपमा स्थापित हुदै गएका शंकर एमाले पार्टीको महत्वपूर्ण नेता थिए ।

श्रद्धाञ्जलि सभामा बोल्ने अधिकांश सहभागिहरुले नवराज शंकरले देखाएको बाटोमा अघि बढ्नुपर्ने धारणा राखेका थिए । उनीहरुले शंकरको सपना साकार पार्न सामुदायिक एकता जरुरी रहेको बताएका छन् । मानव अधिकार, दलित समुदायको उत्थान र राजनीतिक क्षेत्रमा अब्बल शंकरको योगदानलाई भुल्न नसकिने अभियन्ताहरुले बताएका छन् । उनको योगदानलाई स्मरणीय बनाउन रचनात्मक कामको जरुरी रहेको बताइएको छ ।

श्रद्धाञ्जलि सभामा मुक्ति समाजका केन्द्रीय अध्यक्ष जीतु गौतम, अभियान्ताहरु खेम नेपाली, जसमाया गजमेर, सोमनाथ पोर्तेल, खड्ग परियार, नैन रुचाल, तिल कुमार मेन्याङ्बो, बृहस्पति उपरकोटी, बीरु दर्नाल, शुसिल विक, सफल पोर्तेल, अमर बराइली, प्रकाश परियार, विधार्थी नेता रविन्द्र सुवेदी लगायतले श्रद्धासुमन व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares