सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बिहीवार वडा ४ र ५ का होम आइशोलेसनमा बसेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै आवश्यक औषधि वितरण गरेको छ ।
शिवसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, दूधे आयुर्वेद कविराज राजेन्द्र पोख्रेल, वडाध्यक्ष सत्यनारायण ताजपुरिया र नगरका फोकल पर्सन रोशन अधिकारीको टोली संक्रमितको स्वास्थ्य अवस्था बुझदै औषधि वितरण गरेको हो ।

नगरको टोलीले वडा नं. ४ र ५ का २० घरमा रहेका संक्रमितलाई औषधि वितरण गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै कुन्जिबारीमा रहेको सशस्त्र प्रहरी बललाई पनि स्वास्थ्य सामग्री र इम्युनिटी पावर बढाउने औषधि वितरण गरेको छ । नगरका फोकल पर्सन अधिकारीका अनुसार होम आइशोलेसनमा बसेका संक्रमितहरु बाहेक गाउँ घरमा रुघा र ज्वरो आएका अन्यलाई पनि औषधि दिई सुरक्षित तरिका अपनाई बस्न सुझाइएको थियो ।
शिवसताक्षी वडा नं. ४ का संग्रौला थरका एक व्यक्ति रोजगारीको क्रममा भारतमा कोरोनाबाट मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको । उनको छोरा घर फर्किने क्रममा काँकरभिट्टामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि नगर स्वास्थ्यको टोलीले होमआइशोलेसन राखी आवश्यक औषधि वितरण गरिएको फोकल पर्सन अधिकारीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै नगर स्वास्थ्य र जनप्रतिनिधी सक्रिय भई कोभिड व्यवस्थापनमा लागेका छन् । शिवसताक्षी नगरपालिकाले विपन्न परिवारलाई कोभिड लागेका व्यक्ति अस्पताल जान र पीसीआर चेक गर्न जानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।







प्रतिक्रिया