Banner news

नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने राष्ट्रपतिको घोषणा

नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने राष्ट्रपतिको घोषणा


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०५० सम्म कार्बन उत्सर्जनमा तटस्थताको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा नेपाल अडिग रहेको बताएकी छिन् ।

दक्षिण कोरियाको आयोजनामा आइतबारदेखि सुरु भएको हरियाली विकास तथा विश्व लक्ष्य(पीफोरजी २०२१) सम्मेलनलाई भर्चुअल सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

सोमबारसम्म चल्ने उक्त सम्मेलनलाई विश्वका नेताहरूले भर्चुअलरुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जलवायु लगानी र प्रविधिमार्फत अल्पविकसित मुलुकलाई कोभिड क्षतिबाट उकास्नको लागि समावेशी हरियाली पुनरुत्थान कार्यक्रम महत्त्वपूर्ण हुने भनाई राखेकी राष्ट्रपति भण्डारीले जलवायु नीति र कार्यक्रममार्फत महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कुरामा जोड दिएकी छिन् ।

जलवायु परिवर्तनबारे विश्व सहभागिता तथा आउँदो वर्ष बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु सम्मेलन कोप–२६ लाई योगदान दिने उद्देश्य रहेको उक्त सम्मेलनमा ४० देशका सरकार प्रमुख र अन्तर्राष्ट्रिय सङ्गठनका २१ जना प्रमुख सहभागी रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शेयर गर्नुहोस :

0
Shares