Banner news

विर्तामोड नगर अस्पतालको फार्मेसी प्रकरण : कागजातले बोल्दैन ‘सेटिङ’

विर्तामोड नगर अस्पतालको फार्मेसी प्रकरण : कागजातले बोल्दैन ‘सेटिङ’


विर्तामोड । स्वास्थ्य वीमा अन्तर्गत विर्तामोड नगर अस्पतालमा फार्मेसी सञ्चालन गर्न दिने कोठा भाडामा सेटिङ मिलाइएको विषय अहिले चर्चामा छ । कर्मचारी र फर्मवाला बिच लाखौं रुपैयाँको सेटिङबाट फार्मेसी सञ्चालनको तयारी गरिएको भन्ने विषय कागजातले देखाउदैन ।

विर्तामोड नगरपालिकाका सूचना प्रविधि शाखाका अधिकृत जयराम चौलागाईले बजारमा हल्ला भए जस्तो कुनै सेटिङ नभएको बताएका छन् । उनले कागजातले नै सबै स्पष्ट हुने बताउँछन् । चौलागाईका अनुसार फार्मेसी सञ्चालनका लागि दिइने कोठा भाडामा कतै गडवढी नहोस् भन्दै इ–विडिङ गरिएको हो । इ–विडिङमा कसले कति मुल्य राखेर टेण्डर हालेको छ भन्ने हेर्न पाइदैन, चौलागाई भन्छन्, यसमा शंका गर्नु दुर्भाग्य हो ।

कर्मचारीको भनाई र प्रक्रियागत दावी गरिएका विषय बारे इजलासले आवश्यक कागजात फेला पारेको छ । विर्तामोड नगरपालिकाले काठमाडौंबाट प्रकाशित सौर्य दैनिकमा बैशाख २३ गते पृष्ठ २ मा शिलवन्दी दरभाउ पत्र आव्हान गरेको सूचना प्रकाशन गरेको छ । त्यै सूचना नगरपालिकाले आफ्नो वेभसाइटमा समेत राखेको छ । सूचना प्रविधि शाखाका चौलागाईले सूचना हेर्न पाइन वा सूचना देखिन भन्ने छुट कसैलाई नहुने बताए । उनले थपे, अपराध गरेर कानुन थाहा थिएन भन्न पाइदैन ।

सो दरभाउ पत्रका आधारमा पाँच वटा फर्मले दरभाउ पेश गरेको प्रमाण फेला परेको छ । सूचना प्रकाशित भएको १६ औं दिनको १२ बजेसम्म दरभाउ पेश गर्न पाइने सूचनामा उल्लेख छ । १२ बजेसम्म पेश गर्ने र प्राप्त शिलबन्दी दरभाउ पत्र २ बजे खोल्ने सूचनामा लेखिएको छ ।
प्राप्त भएको अनलाईन शिलवन्दी दरभाउ पत्रको विवरण अनुसार जनकल्याण फार्मेसी बिर्तामोड– ५, अमन फार्मेसी बिर्तामोड– ७, कन्काई माई ड्रग हाउस बिर्तामोड– ५, पुष्पलता मेडिकल हल बिर्तामोड– ४ र कालिमा ड्रग डिष्ट्रिव्युटर्स अर्जुनधारा– ११ ले शिलबन्दी दरभाउपत्र पेश गरेका छन् । त्यसमध्ये अमनको जेठ ६ गते दिउँसो ३ः३३ बजे, जनकल्याण ३ः२६ बजे र कनकाई माई ड्रग २ः५४ बजे अनलाईमा दरभाउपत्र दर्ता गरेको पाइन्छ । यस्तै, अन्तिम दिन जेठ ७ गते पुष्पलताको बिहान ११ः५२ बजे र कालिमा ड्रगको ११ः५५ बजे अनलाईमा दर्ता भएको पाइएको छ ।

समय सकिन ५ मिनेट बाँकी रहँदा कालिमाले दरभाउ पत्र अनलाईमा दर्ता गरेको छ । अन्तिममा दरभाउ पत्र पेश गर्ने कालिमाले नै फार्मेसी सञ्चालनको लागि नगर अस्पतालमा कोठा पाउन सफल भएको छ । समयको अन्तरालले सुझ्बुझ मै पेश गरेको हो कि भन्ने शंका गर्न सकिन्छ तर यसबारे चौलागाईको फरक धारणा छ ।

चौलागाई भन्छन्, इ–विडिङ त्यस्तो प्रविधि हो । खोल्ने समयमा कागजात प्रिन्ट गर्दा मात्रै ककसले दरभाउ पेश गरेको भन्ने थाहा हुन्छ । हामीले सूचनामा उल्लेख गरेको समयसम्म पीपीएमओ–इजीपी प्रणालीले सबै सिस्टमलाई निक्रिय पारेको हुन्छ ।

कालिमा ड्रग डिष्ट्रव्युटर्स अर्जुनधारा –११ ले सबैभन्दा बढी ३६ लाख ६० हजार (भ्याट बाहेक) शिलबन्दी दर भाउ पत्र पेश गरेको नगरपालिकाको सूचना प्रविधि अधिकृत जयराम चौलागाईले जानकारी दिए । उनका अनुसार जनकल्याण फार्मेसीले १२ लाख ११ हजार, अमन फार्मेसीले १२ लाख, कन्काई माई ड्रग हाउसले १६ लाख ४९ हजार ७९९ रुपैयाँ ९७ पैसा र पुष्पलता मेडिकल हलले ३६ लाख रुपैयाँको शिलबन्दी दरभाउ पत्र पेश गरेका थिए ।
नगरपालिकाले आवश्यक प्रक्रिया अनुसार कालिमासँग सम्झौताको तयारी थालेको छ ।

दरभाउ पेश गर्नेमा नगरका कोभिड फोकल पर्सन ओम खड्का दुई फर्म छन् । अमन र जनकल्याणबाट खड्काले दरभाउ पेश गरेको देखिन्छ । यस्तै, उनका व्यवसायिक पार्टनर भनिएका कालिमाँका खेमराज बस्नेतले समेत दरभाउ पेश गरेका थिए । बस्नेतले आफु खड्को व्यवसायिक पार्टनर नभएको दावी गर्दै आएका छन् ।

शेयर गर्नुहोस :

0
Shares