काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ । सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनीहरु चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिकलगायतका राष्ट्रिय सञ्चारमाध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डट कम’ का प्रधान सम्पादकका रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वेच्छिक अवकाश लिएका मुखिया ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक उपाधिप्राप्त हुन् । मन्त्री नेम्वाङले अधिकारी र मुखियालाई आज सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सृजनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिए ।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वललगायतको उपस्थिति थियो ।







प्रतिक्रिया