मुख्य समाचार

बाटो ढाक्नेगरी निर्माण सामग्री राख्दा दुर्घटना, घाइते राजवंशीको मृत्यु

बाटो ढाक्नेगरी निर्माण सामग्री राख्दा दुर्घटना, घाइते राजवंशीको मृत्यु


बिर्तामोड – ठेकेदार कम्पनीले बाटो ढाक्नेगरी निर्माण सामग्री राख्दा भएको दुर्घटनामा परी घाइते भएका झापा गौरीगञ्ज गाउँपालिका–१ निवासी ५१ वर्षीय रमेश राजवंशीको मृत्यु भएको छ ।

राजवंशी गत असोज २५ गते साँझ झापा गाउँपालिका–३ कामाटोली बजार नजिक मोटरसाइकल दुर्घटनामा परेका थिए । कुमरखोद बजारदेखि उत्तर सुरुङ्गातर्फ आउदै गर्दा मे १० प ७७९ नम्बरको मोटरसाइकल असोज २५ गते साँझ सवाँ ६ बजे दुर्घटना भएको थियो । सुरुङ्गा–कुमरखोद सडकअन्तर्गत नाला बनाउन ठेकेदार शेरबहादुर थापाको कम्पनीले बाटो ढाक्ने गरी निर्माण सामग्री राखेको थियो ।

निर्माण सामग्रीका कारण साघुरो बाटोमा बालुवामा चिप्लिएर भएको दुर्घटनामा परी चालक राजवंशीको खुट्टा भाँचिएको थियो । उनको उपचारका क्रममा शुक्रबार बिहान बिराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो । दुर्घटनालगत्तै मृतकका परिवारले लापरबाही गरी सडकमा निर्माण सामग्री राख्ने ठेकेदार कम्पनीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कुमरखोदमा लिखित उजुरी दिएको थियो । सुरुङ्गा–कुमरखोद सडकको निर्माण ठेकेदार शेरबहादुर थापा हुन् । घटनापछि थापाले मृतक परिवारसँग कुनै समन्वय नगरेको पीडित परिवारको आरोप छ ।

शेयर गर्नुहोस :

0
Shares