Banner news

विर्तामोडमा विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण

विर्तामोडमा विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण


झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ९ का विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण गरिएको छ । सोमबार दलित जागरण अभियान केन्द्र विर्तामोडले आयोजना गरेको एक कार्यक्रमका विच नगरप्रमुख धु्रवकुमार शिवाकोटी र वडाध्यक्ष पवित्रा पाठकले वंगुरका पाठा वितरण गरेका हुन् ।

विर्तामोड नगरपालिका वडा नम्बर ९ को २ लाख ५० हजार आर्थिक सहयोगमा बंगुर पालन कार्यक्रम अन्तर्गत ४० जना विपन्न दलित परिवारलाई पाठा वितरण गरिएको वडाध्यक्ष पवित्रा पाठकले बताइन् । नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि धु्रवकुमार शिवाकोटीले वंगुर पालनबाट राम्रो लाभ लिन सकिने भन्दै पालन पोषणमा ध्यान दिन आग्रह गरे ।
उनले वंगुर पालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन वितरण गरिएका वंगुरहरुको इन्स्युरेन्स र बिउको लागि भाले बंगुर खरिद गरि दिने बताएका छन् । कृषि तथा पशुपालनामा आत्मनिर्भर बनाउँदै विपन्न दलित समुदायको आर्थिक स्तर वृद्वि गर्ने नगरपालिकाको उदेश्य रहेको उनको भनाई थियो ।

दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख शिवाकोटी, बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक, नेकपा माओवादी केन्द्र बिर्तामोडका अध्यक्ष मोहन सुव्वा, दलित जागरण अभियान केन्द्रका उपाध्यक्ष लक्ष्मी मोते, सचिव गोपाल लकान्द्री, सहसचिव सुमन त्रिखत्री, कार्यपालिका सदस्य संगीता शिवा,वडा नम्बर ९ का वडासदस्य बालकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

दलित जागरण अभियान केन्द्रले बंगुर पालनको अनुगमनको लागि खेम नेपालीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । बिर्तामोड नगरपालिकाले विपन्न दलित परिवारलाई वार्षिक २२० वटा भन्दा बढी बंगुरका पाठा वितरण गर्दै आएको बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares