Banner news

झापामा जिससको तीब्र अनुगमन

झापामा जिससको तीब्र अनुगमन


झापा । जिल्ला समन्वय समिति झापाले जिल्लाभरको आयोजनाहरु निरन्तर अनुगमन गरिरहेको छ । जिल्लास्थित कार्यालयहरुबाट हुने विकास निर्माण, प्रदेश र केन्द्र सरकारबाट भइरहेका कामको गुणस्तरीयताको अनुगमन गरिहरेको समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाधार विकास कार्यालय, सिचाई, शहरी विकास, वन कार्यालय, ज्ञान केन्द्रका आयोजनाहरु अनुगमन गर्ने काम भइरहेको छ ।

मुख्यतःभौतिक पूर्वाधार, सिचाई आयोजना, बाटो, पुल, भवनहरु र अनुदानबाट सञ्चालित कामको अनुगमनमा समन्वय समिति निरन्तर लागिपरेको छ । हरेक वर्ष समन्वय समिति झापा जिल्लाको विकास निर्माणको पहरेदारको रुपमा भूमिका निर्वाह गर्दै आएको छ ।
जिल्ला समन्वय समितिले समन्वय र अनुगमनको कामलाई प्राथमिकतामा राखेका आफ्ना गतिविधि सञ्चालन गर्दै आएको उपप्रमुख मीना पराजुलीले जानकारी दिनुभयो । फिल्डमा पुगेर आयोजनाहरु हेर्ने काम भइरहेको उहाँको भनाई छ ।

अनुगमनमा समन्वय समितिले कामको गुणस्तरीयता, मापदण्ड पुरा गरे नगरेको, स्टमेट अनुसार काम भए/नभएको, समयमा काम सकिएका छन् /छैनन् र स्थानीय नागरिकको जागरुपमा हेर्दै आएको छ । प्रदेश र केन्द्र सरकारले आयोजनाहरु सञ्चालन गर्दा स्थानीय पालिकासँग समन्वय गरेका छन् कि छैनन् भन्ने बारे अनुगमनमा हेर्ने गरिएको बताइएको छ ।
जिल्ला समन्वय समितिले यो वर्ष असारको अन्तिमसम्ममा ५७ वटा आयोजनाहरु हेरिसकेको छ । ५७ आयोजनामा समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, अन्य सदस्यहरु र समन्वय अधिकारीसहितको टोलीले अनुगमन गर्दै आएको छ । कृषि ज्ञान केन्द्रबाट सञ्चालित अनुदानका कार्यक्रम, भेटनरी तथा पशु विज्ञ केन्द्र, वन डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, भवन तथा शहरी विकास कार्यालय र प्रदेश सरकार अन्तर्गतका आयोजनाहरु अनुगमन भइरहेको छ ।

अनुगमनमा समन्वय समितिले सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु, इन्जिनियरहरुलाई समेत सहभागिता गराउने गरिएको छ । अनुगमनका क्रममा सो आयोजनाको उपलब्धी, निर्माण कार्यको प्रगति बारे छलफल अन्तक्रिया गर्ने गरिएको छ । सँगै अनुगमनमा उपभोक्ता समितिसँग समेत छलफल गरिदैं आएको छ । उनीहरुसँगको छलफलका क्रममा उठेका विषयलाई रिपोट गरेर प्रतिवेदन मार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।

आयोजनाको सदुयोग र नागरिकको लाभान्वित अवस्थालाई समेत अनुगमनका क्रममा अध्ययन गर्ने गरिएको छ । कतिपय पूर्वाधार आवश्यक नभएका ठाउँमा पनि निर्माण गरिएका हुन सक्छन् भन्ने गरि पनि हेर्ने गरिएको छ । अनुगमनको सम्पूर्ण विवरण प्रतिवेदन मार्फत सार्वजनिक गरिने प्रमुख पोर्तेलको भनाई छ ।

प्रमुख पोर्तेलका अनुसार प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाहरुमा स्थानीय पालिकासँग समन्वय नभएको पाइएको छ । त्यसमा पालिका वा प्रदेश सरकारको जिल्लास्तिथ कार्यालयहरुको कमजोरी हुन सक्ने उहाँको भनाई छ ।

अनुगमनका क्रममा अधिकांश आयोजनाहरु समय सकिन लाग्दा मात्रै काम गर्ने प्रबृत्ति देखिएको प्रमुख पोर्तेलले बताउँनु भयो । समय छदैंछ भन्दै बसेर अन्तिममा काम गर्ने अवस्था देखिएको छ । यस्तै, अनुदान पाएपछि मात्रै काम थाल्ने समस्या देखिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, अनुदान पाएपछि मात्रै कागती रोपेको हामीले भेटेका छौं । अनुदानको लोभमा काम गर्ने प्रबृत्ति पनि अनुगमनमा पाइएको छ । आगामी दिन यस्ता प्रबृत्तिको अन्त्य गर्नुपर्ने देखिएको अनुगमनमा सहभागीहरुको भनाई छ ।

कतिपय आयोजनामा प्रतिनिधिहरु जिम्मेवार र जवाफदेही नभएको पाइएको छ । काम सञ्चालन भइरहे पनि सम्बन्धित कार्यालयका प्रतिनिधिहरु आयोजनाबारे वेखबर जस्तै भएको पाइएको छ । आयोजनामा काम गर्ने श्रमिकहरु आफ्नै हिसावले काम गरिरहेको अनुगमनका क्रममा देखिएको छ । इन्जिनियर र प्राविधिकहरुबाट आयोजना निर्माणमा हेल्चेक्राई भएको पाइएको छ ।

पूर्वाधार विकासमा भइरहेका काममा मापदण्ड पुरा नभएको पाइएको प्रमुख पोर्तेलको भनाई छ । आयोजनाहरुका कामलाई परीक्षणको दायरामा ल्याउन कडाई गरिने उहाँको भनाई छ ।
सबै गलत भन्न खोजेको होइन, प्रमुख पोर्तेलल भन्नुहुन्छ – ‘ कतिपय पुल, सडकहरु राम्रो बनेका छन् । ’ तर, आवश्यक मापदण्ड, आवश्यक समन्वयमा भने कमजोरी देखिएको छ । अब, प्रयोगशालामा परीक्षण गरेर गुणस्तर मापन गर्दै जान सकिन्छ ।

विगतमा भन्दा पछिल्लो वर्षहरुमा धेरै सचेत भएको पाइएको छ । आयोजना सञ्चालन गर्दा पहिलेभन्दा अहिले धेरै सुधार आएको प्रमुख पोर्तेलको भनाई छ । केन्द्र सरकारले सञ्चालन गर्ने आयोजनाहरु प्रति स्थानीय पालिका जवाफदेही नभएको अनुगमनका क्रममा देखिएको छ । पहिले स्थानीय सरकार नहुँदा नागरिकको तहबाट धेरै खवरदारी हुने गरेको थियो । अहिले स्थानीय सरकार भएका कारण नागरिकको तहबाट पहिले जस्तो खवरदारीमा कमि आएको उहाँको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares