काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिए ।
‘यो अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’, महासचिव दाहालले भने, ‘यसलाई तत्काल रोक्नुपर्छ । राज्य आतंक नरोकिए यो खेदजन्य कार्यविरुद्ध आन्दोलित हुनुको विकल्प छैन ।’
प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार समाचार कक्षबाट नियन्त्रणमा लिएको छ । उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार नै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै पाँच जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन् ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भनेका छन् । शुक्रबार नै अर्का पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया