बिर्तामोड । नेपालीको औसत उमेर बढेर गएको छ । उमेर बढ्ने क्रमसँगै क्यान्सरले थलिएका बिरामीको संख्या पनि बढ्दै छन् । बर्सेनी तीसदेखि पैंतीस हजार नयाँ क्यान्सरका बिरामी थपिने क्रममा छन् । क्यान्सर रोग विशेषज्ञका अनुसार, औसत उमेर बढ्दै गएकाले क्यान्सरका बिरामी पनि बढ्दै गएका हुन् ।
धूम्रपान एवं मद्यपान गर्नेहरूमा क्यान्सरको सम्भावना पनि बढि हुन्छ । तर, लतमा लागेका सबैमा क्यान्सर नै हुन्छ भन्ने छैन । क्यान्सरको ठ्याक्कै कारण हुँदैन । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका मेडिकल सुपरीटेन्डेन डा. विरेन्द्र यादवका अनुसार खानपिनमा हेलचेक्र्याइँ गर्ने प्रवृत्ति भएका मानिसमा क्यान्सरको सम्भावना हुन्छ । डा. यादव भन्छन्, ‘तर ठ्याक्कै यही कारण क्यान्सर लाग्यो भन्ने चाहिँ हुन्न ।’
‘क्यान्सर निम्त्याउने जीवनशैली हो, जसमा रिक्स फ्याक्टर बढि हुन्छ तर त्यसलाई कारण चाहिँ भनिहाल्न मिल्दैन, डा. यादव भन्छन् ।
पुरुषहरूमा फोक्सो, पेट, आन्द्रा, मुख, घाँटीका क्यान्सरका पीडितहरूको संख्या धेरै छ । त्यस्तै महिलामा स्तन, पाठेघरको मुख र गर्भाशयको क्यान्सर बढी देखिएको छ । यी रोगबाट ६० वर्ष नाघेका व्यक्तिहरू बढी प्रभावित छन् । बालबालिकामा ब्लड क्यान्सर र लिम्फोमा क्यान्सर बढी देखिएको छ ।

क्यान्सरका बिरामी बढ्दैछन् । उपचारका लागि सर्जरी, मेडिसिन अंकोलोजी र रेडिएसन अंकोलोजी आवश्यक पर्छ । एमएस गरेका जनरल सर्जनले नै सर्जरी गरिरहेका छन् । सर्जरीका लागि समस्या नदेखिए पनि मेडिकल अंकोलोजिस्टको संख्या पर्याप्त नभएको डा. यादवको भनाइ छ ।
विदेश जानु पर्दैन
स्वदेशमा सरकारी एवं निजी क्षेत्रबाट सञ्चालित अस्पतालले सेवा प्रवाह गरिरहे पनि भारतका विभिन्न अस्पतालमा उपचार गराउन जानेको संख्या पनि ठूलै छ । तर, अहिले धेरै प्रविधि विकास भइसकेको कारण विदेश नै गएर उपचार गराइहाल्नु नपर्ने उनको तर्क छ । डा. यादव भन्छन्, ‘पूर्वाञ्चल क्यान्सर अस्पतालमा जटिल प्रकारको क्यान्सरको उपचार पनि सम्भव छ ।’
कति नेपाली क्यान्सरको उपचारका लागि विदेश जान्छन् भन्ने यकिन तथ्यांक छैन । तर बिरामी उपचारका लागि गइरहेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् । क्यान्सरको तेस्रो र चौथो स्टेजमा पुगेपछि भारतका विभिन्न अस्पताल चाहार्ने बिरामी सयौं छन् । त्यसमध्ये कतिपयलाई चिकित्सकले स्वदेशमै उपचार गराउन फर्काइदिने गरेका छन् । ‘अन्तिम अवस्थामा हामीमाथि नै भरोसा गरेर उपचार गर्नेहरू धेरै छन् । विदेश जानुको साटो स्वदेशमै उपचार हुन्छ भन्ने विश्वास बिरामीको अझै विश्वास जित्नुपर्ने चुनौती देखिएको छ’, डा यादवले सुनाए । त्यसो त पेटसिटी मेसिन चाहिँ पूर्वाञ्चल क्यान्सर अस्पतालमा छैन । भए पनि चलाउने ऐन नभएको उनको भनाई छ । तर, जति मेसिन छन्, निकै छन् डा. यादवले भने । उनका अनुसार बिरामी निरास भएर विदेशिनु पर्ने छैन ।
उनले क्यान्सरको दोस्रो स्टेप पुगेपछि मात्रै उपचारमा आउने भएकाले बेलैमा जाँच गर्न आग्रह गरेका छन् ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा कार्यरत डा.प्रियंका कटुवालले क्यान्सर लागेको शंका भएपछि बाहिरै उपचार गर्ने, अपरेशन गर्ने र विग्रिएपछि मात्रै अस्पताल आउने गरेको बताइन् । ३० प्रतिशत विरामी मात्रै समयमै आउने र बाँकी ७० प्रतिशत विरामी दोस्रो स्टेप पुगेपछि आउने गरेको बताइन् । उनले शंका लाग्ने वित्तिकै उपचारका लागि क्यान्सर अस्पताल नै आउन आग्रह समेत गरेकी छन् ।







प्रतिक्रिया