Banner news

दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन

दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन


शिवसताक्षी । झापा शिवसताक्षी रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्रअ विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ ।

नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन) ले नियम र कानुन परिधि भित्र रही यस विषयमा ७ दिन भित्र सरोकारवाला निकायहरुसँग छलफल गर्ने बताए पछि नेविसंघले सहमति जनाएको छ ।

यता नेविसंघका जिल्ला सभापति राजेन्द्र उप्रेतीसहितको टोली र नगरप्रमुख थोप्रासँग नगरप्रमुखको कार्यकक्षमा सहमति भइरहँदा आन्दोलनकारीले त्यसको प्रवाह नगरी नगरपालिकाको गेट लगाइदिएका छन् । आन्दोलनकारीले नगरपालिका क्षेत्र भित्र प्रवेशगरी नगरप्रमुख थोप्रा र शिक्षा अधिकारी विरुद्ध नाराबाजी गरेका थिए भने नगरपालिका हाताभित्र राखिएको गमला समेत तोडफोड गरेका छन् ।

आन्दोलनको जानकारी पाएपछि नगरपालिका नेपाल प्रहरीलाई तैनाथ गरेको थियो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन) ले नगरपालिका ऐन र नियम अनुसार नै अघि बढिरहेको बताए । विद्यालय जस्तो पवित्र संस्थामा राजनीति नगर्न सबैलाई आग्रह गरेका थिए । उनले शिक्षक नियुक्ति प्रकरणमा सबै सरोबारवाला निकायहरुलाई एकै ठाउँमा राखी नियम र कानुनको परिधि भित्र रही सात दिनभित्र छलफल गराउने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिले स्नातकतहको शैक्षिक योग्यता भएका माध्यमिक तथा द्वितीय श्रेणीका वरिष्ठम शिक्षकका आधारमा लालमणी सुवेदीलाई निमित्त प्रअ बनाई नगरपालिकामा बैंक खाता सञ्चालनका लागि पठाइएको थियो । यता सोही विद्यालयका स्नातकोत्तर तह शैक्षिक योग्यता भएका द्वितीय श्रेणीका शिक्षक श्रीप्रसाद खरेलले कक्षा १२ सम्म सञ्चालन भएको विद्यालयमा प्रधानाध्यापक हुन आफु योग्य भएको भनी नगरपालिकामा निवेदन दिएका थिए ।

माध्यमिक तहका एक भन्दा बढी शिक्षकको प्रअमा दावी पेश भएपछि शिवसताक्षी नगरपालिका शिक्षा शाखाले शिक्षा नियमावली २०५९ ९संसोधन सहित० ९३ ९३० बमोजिम प्रअ नियुक्ति प्रकृया पुरा गरी प्रअ नियुक्ति भएको खण्डमा खाता सञ्चालन परिवर्तन सिफारिस दिन सकिने विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिले प्रअ नियुक्ति प्रकृया अगाडी नबढाएपछि शिवसताक्षी नगरपालिकाको नगरकार्यापालिकाको बैठकले सात दिन भित्र ९३ ९३० बमोजिम प्रअ नियुक्ति अघि बढाउन निर्देशन दिने र तत्कालका लागि शिक्षक कर्मचारीहरुलाई तलब भुक्तानीका लागि विद्यालय कर्मचारी र नगरपालिकाका लेखा शाखाका कर्मचारीको नाममा खाता सञ्चालन गर्ने गरेको थियो । उक्त निर्णयको विरुद्ध नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिका घेराउ गरेको हो ।

यसअघि नै नेविसंघले, नेपाली कांग्रेस, नेपाल शिक्षक संघले विद्यालय व्यवस्थापन समितिले तोकेको प्रधानाध्यापकलाई मान्यता दिन नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो । पटक पटक शिक्षक नियुक्ति प्रकरणमा नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको नेविसंघले जनाएको छ। आन्दोलनमा नेपाली कांग्रेस शिवसताक्षी, नेपाल शिक्षक संघ आवद्ध शिक्षक, नेपाल विद्यार्थी संघका सभापति तथा प्रतिनिधिहरु र नेपाल तरुदलका कार्यकताहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares