बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीलाई कारबाहीको माग गरिएको छ । प्रेस युनियन मोरङले एक बिज्ञप्ति सार्वजनिक गर्दै शिवाकोटीलाई कारबाही गर्न माग गरेको हो ।
अध्यक्ष शिवाकोटीले मंगलबार प्रेस युनियन मोरङकी कार्यसमिति सदस्य जिनाजंग कार्कीमाथि दुव्र्यवहार गरेको भन्दै प्रेस युनियनले कारबाहीको माग गरेको हो ।
युनियनले सञ्चारकर्मीमाथि भएको दुव्र्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकार्षण भएको जानकारी गराउँदै वाणिज्य संघका अध्यक्ष शिवाकोटीलाई तत्काल प्रक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मंगलवार साँझ सञ्चारकर्मी कार्कीले सामाजिक सञ्जाल मार्फत आफूमाथि उद्योेग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष शिवाकोटीले मादक पदार्थ सेवन गरी दुव्र्यवहार गरेको सार्वजनिक गरेकी थिइन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘आज विराटनगरमा आयोजित एक कार्यक्रमक सकेर फर्किने क्रममा भेट हुदा मादक पदार्थ सेवन गरी बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले मलाई गरेको व्यवहारप्रति मेरो आपत्ति छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाउँमा के कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हेक्का राख्नुपर्छ । मर्यादामा बस्न र आफ्नो बानीव्यहोरा सुधार गर्न म शिवाकोटी महोदयलाई आग्रह गर्दछु । नत्र कानुनी र अन्य उपचारका धेरै विधिहरू रहेको स्मरण गराउन चाहन्छु ।’
हिजो साँझ ६ बजेतिर विराटनगरस्थित होटल रत्नमा रोटरीको कार्यक्रम सकेर कार्की आफ्नो स्कुटी पर्खिरहेको बेला अध्यक्ष शिवाकोटीले कार्कीलाई अंगालो हालेर आफैंसँग जान भनेका थिए ।
कार्कीले भनिन्,‘मेरो साथीलाई अंगालो हाल्न खोज्नुभयो, साथी तर्किएपछि मलाई अंगालो हाल्नुभयो । म उहाँलाई चिन्दिन । म आफै आएको मान्छे आफै फर्किन्छु भनिदिए,’ उनले थपिन् ‘गाडीमा बसेर पनि बोलाको बोलाइ गरेपछि मैले चेतावनीसहित ढोका ढप्काइदिए ।’

शिवाकोटीले देखाएको हर्कतले सीमा नाघेको कार्कीले बताइन् । ‘अत्याधिक मादकपदार्थ सेवन गरेर जे गर्न कसैलाई छुट छैन । वाणिज्य संघका अध्यक्ष शिवाकोटीले कुटाइखाने व्यवहार देखाएका थिए,’ कार्की भन्छिन्, ‘मान्छेहरुले किन कुटाइ खान्छन् भनेको यस्तै व्यवहारले रहेछ ।’
रत्न होटल प्राङ्गणको व्यवहार फेसबुकमा सार्वजनिक गरेपछि उनलाई स्टाटस हटाउन दबाब आएको बताइन् । वाणिज्य संघ मोरङका केही व्यक्तिहरुले आफ्नो इज्जतका लागि भए पनि स्टाटस हटाउन गरेको दबाब उनले अस्वीकार गरेकी छन् ।
‘म ज्यान गएपनि स्टाटस डिलिट गर्दिनँ, यस्ता मान्छे सुध्रिनुपर्छ। म क्लिन मान्छु हुँ, गलतबिरुद्ध बोल्छु,’ उनले भनिन्। आफूमाथि भएको घटनाबारे प्रहरीलाई समेत जानकारी दिएको कार्कीले बताइन् ।







प्रतिक्रिया