बिर्तामोड । मेची कृषि सहकारी संस्थाका बजार प्रतिनिधि भेषराज खनाल एक हप्तापछि मृत अवस्थामा फेला परेका छन् । उनी हल्दिवारीको शान्ति सामुदायिक वन क्षेत्रमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
४८ वर्षीय भेषराज खनाल गत माघ २५ गते बिहान १० बजे घरबाट सहकारीको पैसा कलेक्सनको लागि निस्किएका थिए । उनका भाइ तोयानाथ खनालले दाई नफर्केपछि ईलाका प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि हुलियासहितको निवेदन दिएका थिए । उनको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा १५ जना प्रहरी खटाइएको थियो । त्यस्तै प्रहरी कार्यालयहरुलाई हुलिया परिपत्र गरी खोजतलास गर्न आदेश दिइएको थियो ।
त्यसै क्रममा बुधवार दिउँसो २ बजे हल्दिबारी गाउँपालिका वडा नं.५ स्थित शान्ति सामुदायिक वनमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको साथै सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।







प्रतिक्रिया