बिर्तामोड । झापा बिर्तामोड- ४ का दिलिप कुमार राजवंशी विगत सात वर्षदेखि हवाई यातायात नियन्त्रक (एटीसी) का रुपमा कार्यरत छन् । उनको काम जहाजका चालक दल र अन्य एटीसीसँग सूचना आदान प्रदान गर्ने हो ।
हरेक दिन चन्द्रगडी विमानस्थलको ट्राफिक कन्ट्रोल रुममा भेटिने राजवंशी जहाज हेर्ने बाल्यकालको शोखकै कारण एटीसीसम्म बन्न सफल भएका छन् । दैनिक एक दर्जन जहाजलाई चन्द्रगडी अवतरण गराउने र काठमाडौं प्रस्तानसँगै आवश्यक जानकारी दिने उनको काम हो ।

पाइलट र अन्य टावरका एटीसीसँग कुरा गर्दै जहाजलाई सुरक्षित गन्तव्य पुराउने र ल्याउनेमा उनको मुख्य भुमिका हुने गर्छ । एयर ट्राफिक कन्ट्रोलर राजवंशी यो पेशामा प्रवेश गर्दाको अनुभवहरु स्मरणीय रहेको सुनाउँछन् ।
बिर्ताबजारस्थित महेन्द्र रत्न माविमा अध्ययन गरेका उनी मेची बहुमुखी क्याम्पसमा बिज्ञान विषय अध्ययनका लागि भर्र्ना भएका थिए । मेची क्याम्पस नजिकै रहेको चन्द्रगडी विमानस्थल उनको एटीसी बन्ने एउटा आधार बन्यो । क्याम्पसमा टिफिनको समयमा सधैं साथीहरु लिएर जहाज हेर्न जान्थे, राजवंशी भन्छन् – विद्यार्थीकालबाटै जहाज सम्बन्धी काम गर्ने धोको थियो । जहाज सधैं हेर्न पाइने गरी काम गर्न चाहन्थे, उनले भने – अध्ययनका क्रममा एटीसी बन्ने अवसर पाए । लोकसेवा पास गरेर ६ महिनाको एटीसी तालिम सकेर चन्द्रगडीमै काम गर्न आएका उनी अहिले पनि चन्द्रगडी मै कार्यरत छन् । चन्द्रगडीसँगै हप्तामा एक दिन इलाम एयरपोर्टको जिम्मेवारी सम्हालिरहेको उनको भनाई छ । राजवंशीले सात वर्षको अन्तरालमा बाजुरा, रुम्झाटार, तुम्लिङटार, भोजपुर समेत बसेर काम गरिसकेका छन् ।
राजवंशी भन्छन्, जहाज उढाउने पाइलटले हो । तर, एटीसीको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । एटीसीको सूचनाका आधारमा पाइलटले जहाज उढाउने र अवतरण गर्ने गर्छन् । काठमाडौंबाट झापा आउने जहाज उढाउन पहिले यहाँ ( ट्राफिक कन्ट्रोल रुम) मा जानकारी दिनुपर्छ । काठमाडौंबाट उढेको जहाजले लामिडाँडा, विराटनगरको टावरसँग सम्पर्क गर्दै आउँछ, राजवंशीले भने – चन्द्रगडीको वस्तुस्थिति बारे यहाँबाट जानकारी दिइरहन्छ । मौसमको अवस्था, हावाको गति, हावा कताबाट चलिरहेको छ, रनवेको अवस्था, उढिरहेको जहाजको उचाई, अन्य जहाज आवात जावात बारे जानकारी दिनुपर्छ । विराटनगरले चन्द्रगडीलाई नछोडेसम्म हामीबीच सूचनाको आदानप्रदान भइरहन्छ । विराटनगरले छोडेपछि पूर्ण रुपमा चन्द्रगडीको एटीसीको सूचनाका आधारमा पाइलटले जहाज अवतरण गराउने गर्छन् ।
जहाजलाई अवतरणका लागि रनवे दिने देखि पार्किङसम्मको निर्देशन एटीसीबाटै हुने गर्छ । अहिले चन्द्रगडीमा चार जनाको दरबन्दी छ । त्यसमध्ये ३ जना कार्यरत छन् ।
सिक्किम मनिपालबाट आइटी विषयमा अध्ययन गरेका राजवंशीले एकै पटकमा लोकसेवाबाट नाम निकालेका हुन् । उनका अनुसार एटीसीमा नयाँ पिढीको आकर्षण बढ्दो छ । यो पेशामा भविष्य छ, राजवंशी भन्छन्, मेरै प्रेरणाले ३÷४ जना साथीहरु एटीसी बनिसके ।







प्रतिक्रिया