बिर्तामोड । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा)को यहि फागुन ५ देखि ७ गतेसम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ ।
योसंगै झापा शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । झापा शाखाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको छ । शिक्षकहरुका लागि तालिम ,गोष्ठी ,सेमिनार र सम्मेलनहरु संचालन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा सम्मेलनहरुमा सहभागी गराएर शिक्षकको पेशागत दक्षता अभिवृद्धिमा सहयोग पुर्याउँदै आएको छ ।

यसैगरी मकवानपुर शाखा द्वितीय र ललितपुर शाखा तृतीय स्थान ओगट्न सफल भएका छन् । उत्कृष्ट शाखा छनौट समितिका संयोजक नेल्टाका पूर्वराष्ट्रिय अध्यक्ष हेमन्तराज दाहालले उत्कृष्ट शाखाहरूको घोषणा गरेका थिए । नेल्टा झापाले यस बर्ष मात्र राष्ट्रिय स्तरका शिक्षक प्रशिक्षक तालिम तथा नेपालमै पहिलो पटक महिला अंग्रेजी शिक्षक सम्मेलन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको थियो ।
झापा शाखाका अध्यक्ष धर्मेन्द्र भट्टराईले स्वयंसेवी तथा गैरनाफामूलक संस्था भएर पनि झापाली शिक्षकको पेशागत विकासका लागि आफ्नो संस्थाले गरेको योगदानको उचित कदर भएको बताए । गैरराजनीतिक संगठन नेल्टा झापा जिल्लामा शैक्षिक क्षेत्रमा लोकप्रिय बनेको छ । लोकप्रियता बढेसँगै संस्थाको आजीवन सदस्य बन्नेको संख्या पनि बढ्दै गएको छ । हाल झापा जिल्लामा १५ सयबढी अंग्रेजी भाषा शिक्षक रहेका छन् ।







प्रतिक्रिया