सम्पादकीय
मुलुकले फागुनको अन्तिम साता नयाँ राष्ट्रपति पाउदैछ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो तयारीलाई व्यापक बनाएको छ । यता, दलहरु नयाँ राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा दौडधुप गरिरहेका छन् । पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले यो पदको उचाईलाई माथि उठाएका कारण सबैको लोभ राष्ट्रपतिमा केन्द्रीत छ । दलहरुले राष्ट्रपतिको शक्तिलाई बुझेका कारण कुनै हालतमा आफु समर्थितलाई राष्ट्र प्रमुख बनाउने दौडमा देखिन्छन् । राष्ट्र प्रमुख बनाउन दलहरुले धेरै खिचातानी गर्न हुदैन । यो ठाउँमा जनताले स्वीकार गर्न सक्ने व्यक्तिलाई अघि बढाउनुपर्छ ।
नयाँ राष्ट्रपतिका लागि आगामी फागुन २५ गते निर्वाचन हुदैछ । त्यसका लागि मतदाताको नाम पनि सार्वजनिक भइसकेको छ । यसैबीच दलहरु पनि उम्मेदवार सार्वजनिक गर्न रस्साकस्सी गरिरहेका छन् । राष्ट्र प्रमुखमा विवादरहित व्यक्तिलाई उम्मेवार बनाए मात्रै यसको ओझ रहनसक्छ । राजनीति क्षेत्रबाट उम्मेदवार बनाइए पनि विवादरहित नै बनाउनु उपयुक्त हुन्छ । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिबाट आएकी हुन् । प्रथम राष्ट्रपति रामवरण यादव नेपाली कांग्रेसको राजनीतिबाट आएका हुन् । उनीहरु दुवै जना विवादित नेता थिएनन् ।
अहिले उम्मेदवारका रुपमा चर्चामा रहेका सुवास नेम्वाङ, रामचन्द्र पौडेल, माधव कुमार नेपाल, अष्टलक्ष्मी शाक्य, शेरवहादुर देउवा, झलनाथ खनाल, इश्वर पोखरेल सबै सक्रिय राजनीतिमा रहेका व्यक्तित्व हुन् । प्रायः यि उम्मेदवारहरुका सन्दर्भमा आम नागरिकहरु जानकार नै छन् । यसमध्ये सबैभन्दा उपयुक्त पात्र सुवास नेम्वाङ हुन सक्छन् । चर्चामा रहेकामध्ये कम विवादमा आएका नेता हुन्, नेम्वाङ । दलहरुले राष्ट्र प्रमुखमा उम्मेदवार बनाउन राष्ट्रले स्वीकार गर्न सक्ने व्यक्तित्वलाई अघि सार्नुपर्छ । दलहरुबीचको लडाईबाट आउने व्यक्ति सबैको स्वीकार्य नहुन सक्छन् । यसैले दलहरुले यस मामिलामा ख्याल गर्न आवश्यक छ ।







प्रतिक्रिया