बिर्तामोड । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मुल्य वृद्धिको विरोध गर्दै बढेको मुल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले सोमवार मलमा दिइएको अनुदान घटाएर मुल्य समेत वृद्धि गरेको थियो ।
किसान महासंघले मुल्यवृद्धिको घोर विरोध गर्दै भारतबाट आयात भइरहेको विषादियुक्त र गुणस्तरहीन मलको आयात रोक्नुपर्ने लगायतको माग गरेको छ । मंगलवार नेपाल किसान महासंघ झापाका अध्यक्ष विमल निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, – किसानहरुले प्रयोग गर्दै आएको मलको प्रभावकारी अनुगमन समेत गनुपर्छ । उनले सरकारको नीतिका कारण किसानहरु निराश हुँदै गएको बताए ।
बाली लगाउने बेलासम्म मलको अभाव व्यहोर्दै काम गर्नु परेको अध्यक्ष निरौलाको भनाई छ । उनले उन्नत विउको अभावका कारण बालीमा आशाजनक फल समेत प्राप्त नभएको बताए । अध्यक्ष निरौलाले मलका कालाबजारी भइरहेको आरोप समेत लगाएका छन् । किसानले उत्पादन गर्ने कृषि वस्तुहरुले सरकारले तोकेको समर्थन मुल्य समेत नपाइरहेको भन्दै उनले भारतबाट आयात भइरहेको कृषि वस्तुका कारण नेपाली बजार अस्तव्यस्त भएको बताएका छन् ।
किसान बनेर जीवन निर्वाह गर्न कठिनाई भइरहेको भन्दै किसान महासंघले किसानको हितमा सरकारले नीति निर्माण गर्नुपर्ने माग राखेको छ ।







प्रतिक्रिया