Banner news

झापामा असिनापानीले किसानको लगानी स्वाहा

झापामा असिनापानीले किसानको लगानी स्वाहा

राहत नपाए हामी अब उठ्नै सक्दैनौं : किसान


बिर्तामोड । असिनापानीले झापामा किसानले लगाएको बालीमा ठुलो क्षति पुराएको छ । लाखौं रुपैयाँ लगानी गरेर लगाइएको बाली नष्ट हुँदा किसान निराश बनेका छन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर खेती गरिरहेका किसानले राज्यबाट सहयोग नभएर उठ्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रबार राती आएको वर्षाको कारण झापामा धेरै अन्न र तरकारी नष्ट भएको छ ।

झापामा धेरै क्षति हुने पालिकाहरुमा कनकाई, बिर्तामोड र भद्रपुर रहेको कृषि ज्ञानकेन्द्र झापाका सूचना अधिकृत गणेश सिवाकोटीले जानकारी दिए । उनी भन्छन्, ‘कनकाईमा २ हजार २ सय ८७ हेक्टरमा अनुगमन गर्दा ५० प्रतिशत जमिनको बाली नष्ट भएको पाइएको छ । नष्ट हुनेमा विशेष गरी मकै र तरकारी रहेको छ ।’

झापामा ४० हजार हेक्टर जमिनमा मकै खेती रहेको र त्यसमा धेरै क्षति भएको सूचना अधिकारी सिवाकोटीले जानकारी दिए ।

पीडित किसानहरुलाई राहत दिने बारे हालसम्म केही पनि सूचना नभएको उनले बताए । उनी भन्छन्, ‘हामी क्षतिको सम्पूर्ण विवरण उठाएर माथी पठाउँछौ । त्यसपछि मन्त्रीमण्डलले यसरी भएको क्षतिको राहत के कति दिने निर्णय गर्ने पद्धति रहेको छ । किसानहरुले सम्भवत राहत पाउनु हुन्छ ।’

शनिबार रातीको असिना पानीले भद्रपुर १० कलवलगुडीमा रहेको मामा भान्जा कृषि फार्म तथा अनुसन्धान केन्द्रको १५ बिघा जमिनमा लगाएको सम्पूर्ण तरकारी नष्ट गरिदिएको सञ्चालक निर्मल अधिककारी बताउँछन् ।

अधिकारीले आफ्नो फार्ममा टमाटर, बोडी, करेला, लौका, खुर्सानी, चिचिण्डा, काक्रा लगायतका तरकारीहरु लगाएको बताउँछन् । उनी भन्छन्, ‘१५ बिघामा ४० लाखमाथि लगानी गरेर लगाएको सबै तरकारी नष्ट भयो । राज्यले केही हेर्छ कि भन्ने आशा छ ।’

केही वर्ष अगाडि दुबइ गएका अधिकारी त्यहाँ बगाउने पसिना आफ्नै ठाउँमा बगाउने अठोट गरेर गाउँ फर्किएका थिए । पछिल्लो पाँच वर्ष यता व्यवसायिक खेती गर्दै आएका उनले प्राइम बैंकबाट ऋण लिएर कृषिमा लगानी गरेका छन् । परदेशमा आफूले मात्रै कमाएको अनुभव भएका उनले हाल दैनिक २५ जनालाई आफ्नो फार्ममा रोजगारी दिरहेका थिए ।

भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न आइपिएम पद्धतिको सेमी अर्गानिक खेती गर्दै आएका उनी बेमौसमी तरकारी उत्पादनमा विषेश जोड दिन्छन् । उत्पादनको तहमा पुगेका लाखौको तरकारी नष्ट हुँदा उनी हतास छन् । उनी भन्छन्, ‘राज्यले हेरिदिएन भने त उठ्ने ठाउँ नै छैन । मेरो त आँट नै हराई सक्यो ।’

अधिकारीले खेती बीमा गरेका छैनन् । उनी भन्छन्, ‘बीमा गर्न राम्रो हो तर प्रक्रिया झन्झटिलो भएकाले गरिएन । म आफू किसान भएकाले बारी हेर्ने कि पकागजात मिलाउने ? जबसम्म बीमा गर्ने संस्था खेतैमा आएर बीमा गर्दैन तबसम्म खेती गर्ने किसानले यस्तो सुविधा नै प्राप्त गर्दैन ।’

राज्यले कम्तिमा एक पटक खेती लगाउन सहयोग गरिदिए पुनः उठ्न सजिलो हुने अधिकारी बताउँछन् । उनी भन्छन्, ‘देशलाई कृषि जन्य पदार्थमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यवसायिक कृषिमा लागेका हामी जस्ता किसानहरुलाई यस पेशाबाट विस्तापित हुनबाट जोगाउनु पर्छ । राज्यले के के मद्दत गर्दा हाम्रो सुरक्षा हुन्छ त्यो विषयमा ध्यान दिनुपर्छ ।’

शेयर गर्नुहोस :

27
Shares