बिर्तामोड । बिर्तामोड नगरपालिकाले शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अनुगमन गरेको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सोमबार वडा नम्बर १० मा पुगेर त्यहाँको अवस्थाको बारेमा अनुगमन गरेका छन् । असिना पानीले अधिकांसको घरको छाना र कृषि बालीमा ठुलो क्षति पुर्याएको छ ।

नगर प्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले तेलगानी टोलमा रहेको सुकुम्बासी वस्ती लगाायतका विभिन्न टोलमा पुगेर क्षतिको बारेमा जानकारी लिएका हुन् । नगर प्रमुख प्रसाईले टोल विकास संस्था मार्फत जतिसक्दो चाँडौ विवरण संकलन गर्न आग्रह गरे ।
अनुगमनका क्रममा सुकुम्बासी वस्ती र बाँकी रहेका टोलमा रहेका अधिकांस घरहरुको छानो उडाएको, प्वाल परेको पाइएको छ । उनीहरुलाई तत्कालका लागि राहत स्वरुप त्रिपाल वितरणका लागि आवश्यक तयारी गरिएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिए ।
असिना पानीले मकै, तरकारी र केरा बगानमा ठुलो क्षति पुर्याएको छ । वडा नम्बर १०मा मात्रै करिब एक सय १५ विगाह क्षेत्रफलमा मकै नष्ट भएको नगरका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले जानकारी दिए ।
उनले कृषि ज्ञान केन्द्रसँगको समन्वयमा असिना प्रभावित क्षेत्रमा गुगल म्यापिङ गरेर वास्तविक तथ्याङ्क संकलनको काम भईरहेको बताए । बिर्तामोडको वडा नम्बर २,८,९ र १० मा असिनाले क्षति पुर्याएको छ ।
प्रभावित किसानहरुले क्षतिको विवरण संकलन गरेर राहतको व्यवस्था मिलाउन जनप्रतिनिधिहरुसँग माग गरेका छन् । सरकारले यसअघि धानमा भएको क्षतिको राहत नदिएको गुनासो गर्दै उनीहरुले यस पटक भने त्यसो हुन नदिन आग्रह गरेका छन् ।
बिर्तामोड लगायत झापाका अधिकांस पालिकाले धानमा भएको क्षतिको विवरण संघीय सरकारलाई पठाएको र सरकारले बैंक खाता खोल्नसमेत लगाएर वेवास्था गर्दा कृषक मर्कामा परेका छन् । बिर्तामोड नगरपालिकाले आइतबार वडा नम्बर २ मा राहत स्वरुप ८० थान त्रिपाल वितरण गरेको छ ।







प्रतिक्रिया