Banner news

सकियो बिर्तामोडको बुधबारे हटिया क्षेत्र खाली गर्न दिएको समय

सकियो बिर्तामोडको बुधबारे हटिया क्षेत्र खाली गर्न दिएको समय


बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नं. ५ मा रहेको बुधबारे हटिया खाली गर्न भनेको समय आजबाट सकिएको छ । बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको बुधबारे हटियाका घर टहरा हटाउने, संरचनाहरु हटाउने सम्बन्धी सूचना जारी गरेको समय सकिदा पनि कसैले ठाउँ छोडेका छैनन् ।

बहुतले व्यवसायिक भवन निर्माणका लागि नगरपालिकाले उक्त ठाउँ खाली गर्न त्यहाँ विभिन्न प्रयोजनका लागि बसोबास गरिरहेको परिवार र व्यापारीहरुलाई आग्रह गरेको थियो । पहिलो पटक ३५ दिने र दोस्रो पटक १५ दिने सूचना जारी गरेको नगरपालिकाले अब कानुन बमोजिम खाली गर्ने तयारी थालेको छ ।

नगरपालिकामा सर्वदलीय बैठक बसेर उक्त क्षेत्र खाली गर्ने र बहुतले व्यवसायिक भवन निर्माण गर्ने सहमति यसअघि नै भइसकेको छ । आधिकारिक रुपमा व्यापारिक प्रयोजन गरिरहेकाहरुले पनि सम्झौताका क्रममा नगरपालिकाले खाली गर्न भनेको समयमा खाली गरिदिने सहमतिमा उल्लेख छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरको गौरवको योजना भएकोले सबैको सहयोग हुने बताएकी छन् । उनका अनुसार नगरको योजना अनुरुप काम गर्न सबैको सहयोग हुनेछ । नगरपालिकाले पटक–पटक सूचना जारी गरेर जानकारी गराइसकेको हुँदा कानुनी रुपमा अघि बढ्ने उनको भनाई छ । व्यवसायी कै निमित्त भवन निर्माण गरिने भएकाले त्यहाँका व्यवसायीहरुले ठाउँ खाली गरेर सहयोग गर्नुपर्छ, उनले भनिन् ।

नगरका प्रवक्ता अग्नि प्रसाद पाण्डेले त्यहाँ बसेर व्यवसाय गरिरहेकाहरुलाई दिएको समय सकिएकोले अब आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिए । प्रवक्ता पाण्डेले विकासको लागि सबैले वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares