शिवसताक्षी सेरोफेरो
शिवसताक्षी नगरपालिका झापाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । यस नगरलाई सताक्षीधाम,दोमुखा पर्यटकीय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ–मन्दिर, गुम्बा, खोला–नाला,नहर, पोखरी तथा सिमसार क्षेत्रहरुले आकर्षक र रमणीय बनाएको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस नगरपालिकाले शिक्षा क्षेत्रमा पनि उल्लेखनीय फड्को मारेको छ । काम गरेको छ ।
जिल्लाका र छिमेकी जिल्लाहरुका विद्यार्थीहरुको पनि शिक्षाप्रतिको भोक मेटिरहेको शिवसताक्षीमा ३५ वटा सामुदायिक विद्यालय रहेका छन् भने २४ वटा संस्थागत विद्यालय र तीन वटा धार्मिक विद्यालय रहेकको नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए ।
धार्मिक विद्यालयहरुमा उन्नत दर्शन संस्कृत वेद विद्यालय, कन्या गुरुकुल र सतासीधाम संस्कृत गुरुकुल रहेका छन् । यसैगरी कुल ३५ वटा समुदायिक विद्यालयहरु मध्ये १२ वटा मावि, नौ वटा आधारभूत र १४ वटा प्रावि रहेका रहेका छन् ।

शिवगञ्जमा रहेको जनआर्दश मावि नमुना विद्यालयको छनौटमा परिसकेको र धमाधम कामहरु भइरहेको नगर शिक्षा शाखाले जनाएको छ । भानु मावि लालझोडा, वाल निकुञ्ज मावि माइधार, भगवती मावि ब्याङ्डाँडा, राष्ट्रिय रमणीय मावि दुधे, सूर्योदय आधारभूत विद्यालय र पाथिभारा आधारभूत विद्यालय लगायतका विद्यालयहरुले प्राविधिक शिक्षामा जोड गरिरहेको पाइएको छ ।
यस नगरका शैक्षिक संस्थाहरुमा जिल्लाका गौरादह र गौरीगञ्ज लगायतका विद्यार्थीहरु पनि अध्यननको लागि आउने गरेको शिक्षा शाखाले जनाएको छ । यसैगरी पूर्वी पहाड इलाम, पाँचथर र ताप्लेजुङबाट पनि विद्यार्थीहरु आउने गरेका छन् ।
स्थानीय सरकारले शिक्षामा गरेको लगानीको प्रतिफललाई अझै धेरै प्रभावकारी बनाउनका निम्ति नगर स्मार्ट विद्यालय कार्यक्रम कार्यन्वयनको चरणमा रहेको शिक्षा शाखाले जनाएको छ । नगर स्मार्ट परियोजनाको मुख्य उदेश्य भनेको विद्यार्थीलाई कक्षा कोठामा कसरी आकर्षण गर्ने भन्ने हो । यसैगरी स्मार्ट विद्यालयले सिकाई उपलब्धिमा प्रभाव पर्ने र अभिभावकहरुमा पनि विद्यालय मैत्री भावना जागृत गर्ने रहेको शिक्षा शाखा प्रमुख ढकालले बताए ।

शिवसताक्षीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पाँच वटा चार कोठे र तीन वटा दुई कोठे भवनहरुको निर्माणको काम आधाभन्दा बढी भइसकेको छ भने केही निर्माणको शुरुवाती चरणमा रहेको शिक्षा शाखा प्रमुख ढकालले बताए । उनले प्रविधिको प्रयोगसँगै शिक्षामा पनि यसको प्रयोग गरी विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन नगरले प्राविधिक शिक्षा पनि लगानी गरेको बताएका छन् ।
शिक्षा शाखा प्रमुख ढकालले शिवसताक्षीले प्राविधिक शिक्षा तर्फ गणेशमान सिंह अध्ययन प्रतिष्ठानमा तीन वर्षे डिप्लोमा तह अध्ययनका लागि छ जना, नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान बिर्तामोडमा तीन वर्षे कम्प्युटर इन्जीनियर डिप्लोमा तह अध्ययनका लागि चार जनालाई छात्रवृत्ति प्रदान गर्ने गरेको बताएका छन् ।
शिवसताक्षीको प्रत्येक विद्यालयमा नगरपालिकाबाट अनुगमन हुने गरेको छ । यसैगरी इ–हाजिरी ल्याउने र जडान गर्ने काम ठेक्का प्रक्रिया मार्फत कार्यान्वयनको अन्तिम चरणमा रहेको शाखा प्रमुख ढकालले जानकारी दिए । शिवसताक्षीमा नियमित विद्यालयको अनुगमन भइरहेको छ । यस पटकको कक्षा ८ को परीक्षामा अन्तर विद्यालय परीक्षा केन्द्र तोकेर परीक्षा लिएको छ । शाखा प्रमुख ढकालले यो अन्तर विद्यालय परीक्षा प्रभावकारी भएको विद्यार्थी, अभिभावक र शिक्षकहरुबाट राम्रो प्रतिक्रिया आएको बताए ।

शिवसताक्षीका सबै विद्यालयहरुमा स्काउट दल तयार भई सकेको छ । यहाँबाट १५ जना बढी दिक्षान्त भइसकेका छन् । शिवसताक्षीमा स्काउट प्रतिको विद्यार्थीहरुको आकर्षण बढेको पाइएको छ । विद्यार्थीमा अनुशासन सिकाउने र बिपद व्यवस्थापनमा स्काउट परिचालन भएको स्काउट शिक्षकहरु बताउछन् ।
शिक्षा शाखा प्रमुख छवि ढकालको शिक्षा क्षेत्रको थप विकासको निम्ति सुझावहरु दिदै भन्छन्, ‘शिक्षक, कर्मचारी, सम्बन्धित सरोकारवाला निकायहरु जिम्मेवार भएर जिम्मेवारी पूरा गर्नुपर्छ । शिक्षालार्ई प्रविधिसंँग जोड्नु पर्छ । बिशुद्ध गुणस्तर कायम गर्न नगरपालिकाले ध्यान दिनुपर्छ ।’
नगरले गुरुकुललाई बेवास्ता गरेको गुनासो
माइधारमा रहेको कन्या गुरुकलमा भागवत, गीता र चण्डी पाठ सम्बन्धी पढाई भइरहेको प्राचार्य विन्दा देवी बरालले बताइन् । यहाँ २१ जना विद्यार्थी रहेको गुरुकुलले कक्षा चारसम्म बिहान र बेलुकी शास्त्रीय विधा पढाई गरिरहेको छ । विद्यार्थीलाई निशुल्क रुपमा पढाई रहेको यस गुरुकुललाई यसै साल नगरपालिकाले भवन निर्माणका लागि शिवसताक्षी नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग गरेको छ । गुरुकुलका सन्र्दभमा कसैले प्रशंसा गर्ने, कसैले गहिरिएर चासो व्यक्त गर्ने र केहीले अहिलेको समयमा यस विद्याको आवश्यकता नभएको लगायतका टिका–टिप्पणी गर्ने गरेको प्राचार्य विन्दाले बताइन् । उनी भन्छिन्, ‘गुरुकुल शिक्षाप्रति मानिसहरुको मिश्रित धारणा रहेको छ ।
नगरपालिकाको शिक्षा शाखाले गुरुकुलहरुलाई शिक्षाको छलफलमा कुनै पनि बेला नबोलाएको प्राचार्य बरालको गुनासो छ ।
प्रविधिमा अब्बल भानु मावि
शिवसताक्षी ७ लालझोडामा रहेको ग्रामीण क्षेत्रको भानु माध्यमिक विद्यालयले बैग्लै पहिचान कायम गरेको छ । सामुदायिक विद्यालयको भीडमा भानु कम्प्युटर टेक्निकल विद्यालयको रुपमा परिचित छ ।
यस विद्यालयले कम्प्युटर इन्जिनियरिङका चार ब्याचका विद्यार्थी उत्पादन गरी सकेको प्रधानाध्यापक डाम कुमार कुवँरले जानकारी दिए । वि.स.२०७३ साल देखि कक्षा ९ वाट १२ कक्षा सम्मका विद्यार्थीलाई कम्प्युटर इन्जीनिरिङ विषय पढाउने गरेको विद्यालयले जनाएको छ ।
कक्षा ६ देखि नेपाली र अंग्रेजी माध्यमबाट पढाउँदै आएको भानुमा इन्जीनियरिङ, वेभ साइड डिजाईन, प्रोग्रामीङ, कम्प्युटर एण्ड एप्लीकेशन र इलोक्ट्रोनिक सिष्टम शिर्षकको विषय पढाई हुने गरेको प्रधानध्यापक कुवँरले बताए । विद्यालयमा विज्ञान तर्फ भौतिक शास्त्र र रसायनको पढाई हुने गरेको छ भने शिक्षा शास्त्रमा नेपाली, अंग्रेजी र ऐच्छिक गणित विषय भइरहेको छ ।

नेपाल सरकारले एक पालिका एक प्राविधिक धार उदेश्यले शिक्षा विभागबाट मान्यता प्राप्त भानु मावि कम्प्युटर टेक्निकल स्कूल रहेको प्रधानाध्यापक कुवँरले बताए ।
गाउँमा रहेको विद्यालयमा कम्प्युटर इन्जीनिरीङ विषय पढाउन पाउँदा गौरव लागेको उनको भनाइ छ । अन्य विद्यालयभन्दा यस विद्यालयबाट नयाँपनको महसुस अभिभावक, शिवसताक्षीवासीले गर्नु आफै राम्रो पक्ष हो ।
विद्यालय र विद्यालयको जिम्मेवारी वहन गरेको प्रधानाध्यापक लगायतले गरेको कायमको मूल्याङकन गरी शिवसताक्षी नगरपालिकाले छुट्टै बजेटमै प्रोत्साहन रकमको व्यवस्था गर्नुपर्ने प्रधानाध्यापक कुवँरको सुझाव छ । यो विद्यालय प्राविधिक धारको भएकोले अभिभावक र अन्यले बुझ्न नसकेको उनको भनाइ छ । कम्प्युटर इन्जीनियरीङ विषय पढेका विद्यार्थीहरुले रोजगारी पाएको, बुझेका अभिभावकहरुले बेरोजगारलाई रोजगारी दिने विषय भएको भन्दै तारिफ गर्ने गरेको प्रधानाध्यापक कुवँरले बताए ।
यहाँ ओभरसियर तह र नायव सुब्बा तहको पढाइ भइरहेको छ । कम्प्युटर इन्जीनियरीङ प्राविधिक विषय भएकोले कक्षा ९ देखि कक्षा ११ या १२ सम्म पढेका विद्यार्थीले अहिलेको कम्प्युटरको युग भएकोले स्वेदश तथा विदेशमा सरकारी या निजी कम्पनीमा काम गरी खाने, जागिर पाउने शिक्षा रहेको कम्प्युटर शिक्षक सञ्जिव चौधरीले बताए ।
यो शिक्षा आर्जन गरेको विद्यार्थीहरुले प्रमाण पत्र झोलामा बोकेर भौतारिनु नपर्ने र जतासुकै रोजगारीको अवसर सजिलै पाइने प्रधानाध्यापक डाम कुमारको भनाइ छ । स्मार्टबोर्ड मार्फत विद्यार्थीहरुलाई अध्ययन गराउने गरेको विद्यालयका कम्प्युटर शिक्षकहरुले बताएका छन् ।
यस बोर्डबाट अनलाइन कक्षा सञ्चालन, वेभ साइड निर्माण, स्कार्नर, कालोपाटीको रुपमा प्रयोग गर्न मिल्ने सो बोर्डमा रहेको मोवाइलबाट पढाउन मिल्ने किसिमको छ । यसमा इन्टरनेट मार्फत अध्यययन सामाग्री खोज्न मिल्ने लगायतका बहुउपयोगी बोर्ड रहेको कम्प्युटर शिक्षक चौधरीले जानकारी दिए ।
विद्यार्थीलाई कम्प्युटर इन्जिनियरिङ विषयको अध्ययन गराउदा सैद्धान्तिक विषयसँगै प्रयोगात्मक विषय पनि सहज रुपमा सिकाउने गरेको शिक्षक चौधरीको भनाई रहेको छ । सुरुमा त्यसको आधारभूत जानकारी दिन सैद्धान्तिक विषयमा जानकारी दिएर व्यवहारिक सिकाईलाई विशेष प्राथमिकता दिएर सबै विद्यार्थीलाई सिकाउने गरेको उनले बताए । विद्यालयमा छुटाछुटै इलोक्ट्रोनिक ल्याव, फिजीकस ल्याव (भौतिक शास्त्र) र क्यामेटिक (रसायन शास्त्र) को ल्याव रहेको छ । विद्यालयले कम्प्युटर टेक्निकल स्कूलको रुपमा आफूलाई अग्रपत्तिमा परिचित गराए पनि कक्षा कोठा, शुद्ध खानेपानी र छात्रा शौचालयको अभाव रहेको छ । विकासका पूर्वधार खेल मैदान मर्मत सम्भार, बिपन्न अभिभावकहरुबाट सहयोगको अपेक्षा गर्नुपर्ने जस्ता समस्या रहेको प्रधानध्यापक कुवँरले जानकारी दिए । यी समस्या सामधान गर्न तीन तहको सरकार र सहयोगी मनहरुको साथ सहयोग भए शिक्षाको गुणस्तर वृद्धिमा थप सहयोग पुग्ने भानु माविका शिक्षकहरु बताउँछन् ।
कक्षा ११ र १२ को प्रशासनिक कामका लागि विगतको जिल्ला शिक्षा कार्यालय अहिलेको जिल्ला समन्वय इकाई झापा धाउनु पर्ने स्थितिको अन्त्य गरी पालिकाबाट नै सेवा उपलब्ध गराउनु पर्ने कुवँरको सुझाव छ ।
सोही विद्यालयको कम्प्युटर इन्जीनियरिङ विषय अध्ययन गरी तीन महिने ओजेटी गरी रहेका विद्यार्थी मध्येको रुशन दाहालले प्रश्न पत्र, बील, वेवसाइड, सफ्टवेयर, ग्राफिक्स डिजाइन, अनलाइन हाडवेयर र कम्प्युटर मर्मत गर्न सक्ने भएको बताए । यसैगरी छात्रा दिपीसा राईले कोर्स सकिएपछि स्थानीय क्षेत्रमा अवसर पाइने प्रतिक्रिया दिइन् । प्राविधिक धारको कम्प्युटर इन्जीनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु कक्षा नौ मा ४८ जना , कक्षा १० मा ४८ जन , कक्षा ११ मा २० जना र कक्षा १२ मा २५ जना गरी जम्मा एक सय ४१ जना रहेका छन् ।
विगतका दिनमा ठूलो समस्याको रुपमा रहेको विद्यार्थी भाग्ने समस्या अहिले सामान्य भन्दा सामान्य रहेको प्रधानाध्यापक कुवँरको धारण रहेको छ । अहिले हरेक अभिभावकमा आयस्रोत बढेको, छात्रछात्रालाई आमा बुवा परिवारले पढाउनु पर्छ भन्ने भावनाको विकास भएकोले विद्यालय छोड्नेको संख्यमा थोरैमा झरेको उनको भनाइ रहेको छ । प्रत्येक शुक्रवार विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलाप गराई रहेको विद्यालयले जनाएको छ ।
श्रीजंगमा विद्यार्थीको आर्कषण
पूर्व पश्चिम राजमार्गको माइधारस्थित करिव दुई सय मिटर दक्षिण शिवसताक्षी १० मा रहेको श्रीजंग प्राथमिक विद्यालयमा बहुसंख्यक जनजाती, दलित र अन्य समुदायका बालबालिका पढ्ने गरेका छन् । त्यसमा ती समुदायका गरीव,विपन्न, मजदुरका विद्यार्थी पढने गरेको विद्यालयको प्रधानाध्यापक अञ्जु कुमारी गौली योङहाङले बताइन् ।
एक वर्षअघि अन्य सरकारी विद्यालयसँग गाभिन्ने अवस्थामा पुगेको श्रीजंग विद्यालयमा अहिले एक सय दुई जना विद्यार्थी अध्ययन गरी रहेको प्रधानाध्यापक गौलीले बताइन् ।
नर्सरी देखि कक्षा ५ सम्म पढ्ने विद्यार्थीमध्ये जनजाती समुदायको ४१ जना ,दलितका ३८ जना र अन्य समुदायको २३ जना विद्यार्थी अध्ययन गरिरहेका गौलीले जानकारी दिइन् । सेवा निवृत्त भएका प्रधानाध्यापक रामप्रसाद योङ्हाङले विद्यालयको धनीपुर्जा, कार्यालयका कागजहरु प्रधानाध्यापकको हैसियतमा ग्रहण गरेपछि नौ दिनसम्म विद्यालयमा विद्यार्थी संख्या कसरी बढाउने, झन् विद्यार्थीको संख्या घट्यो भने के गर्ने भन्ने पीरले सताउदा निन्द्रा नलागेको हिजोको दिनलाई सम्झदै उनले भनिन् ।
लथालिङ्ङ रहेको विद्यालयको जिम्मेवारीमा लिएकी प्रधानाध्यापक गौलीले केही कोठामा कारपेट, फल्स सिलीङ हलोको, वाल कक्षाको विद्यार्थी खेल्ने, सुत्ने कोठा बनाएको, सिलिङ फेन जडान गरेको, बालबालिका खेल्ने चाकाचुली, झुला हालेको बताइन् ।
यसैगरी विद्यालयमा नेट जडान, चार वटा नयाँ टेवल खरिद , पाँच वटा वाइट बोर्ड निर्माण, केही डेक्स बेन्च मर्मत, इहाजिरी, सूचना पार्टी निर्माण गरिसकेको शिक्षक नारायण भट्टराईले बताए । यहाँ धेरै भन्दा धेरै डकर्मी, दैनिक ज्याला मजदुरी गर्ने अभिभावकका छोराछोरी पढ्ने गरेको उनले बताए ।
विद्यार्थीलाई ५० थान टाउजर र टिसर्ट खरिद गरी वितरण गरेको विद्यालयको भनाई थियो । माइधार बासी सुरेश योङहाङको पहलमा वैदेशिक रोजगारको सिलसिलामा मकाउमा रहेका नेपालीहरुबाट विद्यालयको शैक्षिक सुधार र भौतिक निर्माणका लागि तीन लाख ७२ हजार नौ सय रुपैयाँ सहयोग आएको प्रधानाध्यापक गौलीले दाताहरुको प्रशंसा गर्दै भनिन् ।
एक दिन ज्याला मजदुरी नगरे बिहान बेलुकी हातमुख जोडन धौैं–धौं पर्ने विद्यार्थीका अभिभावक रहेको विद्यालयको फर्निचर अभाव, विद्यार्थीले कापी पेन्सील ल्याउन नसकेको अवस्था, विद्यालय पोशाक र ब्यागको अभाव रहेको विद्यार्थीलाई देखाउँदै उनले बताइन् ।
यहाँ धेरै विद्यार्थीहरुले प्लाष्टिकमा किताब बोकेर आउने गरेको प्रधानाध्यापक गौलीले बताइन् । अलिक ठूला विद्यार्थीलाई किन ब्याग नल्याएको भनेर सोध्दा ब्याग किनिदिने पैसा छैन पैसा कमाए पछि किनिदिने भन्नु भएको छ भनेर विद्यार्थीहरुले सुनाउने गरेको प्रधानाध्यापक अञ्जुले हामीसँग दुखेसो गरिन् ।
वि.स.२०५६ सालमा स्थापना भएको यस विद्यालयमा अहिले एक कर्मचारी सहित तीन जना शिक्षकहरु रहेका छन् । छिमेकमा रहेको सरकारी र बोडिङ् विद्यालय छोडेर यहाँ विद्यार्थी भर्ना हुन थालेका छन् । विद्यार्थीहरु घर जान नपाए हुन्थ्यो जस्तो गर्ने प्रधानाध्यापक गौलीले दावी गरिन् । यस्तो अवस्थामा हरेक कुराको सहयोग गर्न सहयोगी मनहरुको साथ सहयोग पाउन पाए शैक्षिक उपलब्धिमा थप टेवा पुग्ने आशा गरिन् ।
जिल्लाको सदरमुकाममा रहेको जिल्ला शिक्षा कार्यालय भन्दा पालिकामा रहेको शिक्षा शाखाबाट सेवा लिन सजिलो रहेको, समयको बचत हुने, धेरै वटा काम गर्न पाइने प्रधानाध्यापक योङहाङको प्रक्रिया रहेको छ । अहिलेको जमानामा आन्तरिक स्रोतबाट खाजा खर्च मात्र दिएर शिक्षक राख्नु परी रहेको लगायतका विद्यालयमा समस्या धेरै छन् ।
स्रोत छैन, त्यसको क्रमिक रुपमा सुधार गर्दै शैक्षिक प्रगति हात पार्न विद्यालय ब्यवस्थापन समितिको पहल प्रयास जारी रहने अध्यक्ष राम कुमार योङहाङले प्रतिवद्धता ब्यक्त गरे । शैक्षिक सत्र २०८० बाट नर्सरी देखि १ सम्म अंग्रेजी माध्यममा पढाउन शुरु गरेको उनको भनाइ छ । विद्यालयलाई प्रविधि मैत्री बनाउन शैक्षिकस्तर माथि उठाउनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आई.सी.टी.ब्यवस्थापनको लागि ६ लाख ५० हजार बजेट प्राप्त भएको बताइन् । स्मार्ट बोर्ड निर्माणको काम नगरपालिकासँग सम्झौता भई ठेक्का प्रक्रिया सकेर काम शुरु भएको प्रअ गौलीले बताइन् । प्रस्तुति : मनकुमार गदाल







प्रतिक्रिया