बिर्तामोड

नेपाली मजदुरलाई हटाएपछि पुजा प्लाईमा तालावन्दी

नेपाली मजदुरलाई हटाएपछि पुजा प्लाईमा तालावन्दी


बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको पुजा प्लाई उद्योगमा मजदुरहरुले तालाबन्दी गरेर काम ठप्प बनाएका छन् । उनीहरुले आइतबार गेटमा तालाबन्दी गरी काम ठप्प बनाएका हुन् ।

उद्योगमा कार्यरत भारत बिहार घर भएका अन्दाजी ४५ वर्षीय पुरुषले सोही उद्योगमा कार्यरत एक महिलालाई गत शुक्रवार दुव्र्यवहार गरेको र प्रहरीमा जाहेरी दिएर पक्राउ गरिसकेको अवस्थामा नेपाली ३० जना स्थानीय मजदुरलाई कामबाट निकालेपछि आन्दोलन शुरु भएको हो ।

मजदुरहरुले विहानै देखि गेटमा तालावन्दी गरेर पुर्नवहालीको माग गर्दै आन्दोलन गरेका सुरु गरेका हुन् । उनीहरुले तालावन्दी पछि वडा नम्बर २ को कार्यालयमा पुगेर न्यायको माग गर्दै निवेदन समेत दर्ता गराएका छन् । उद्योगमा करिब चार सय जना मजदुर कार्यरत छन् । जसमध्ये ३० जना बाहेक सबै भारतीय रहेको बुझिएको छ । कामबाट निकालिएका मजदुरलाई पुनर्वहाली नगरी उद्योग सञ्चालन हुन नदिने एक मजदुरले जानकारी दिए ।

वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले दोषीलाई कानून बमोजिम कार्वाही हुनुपर्ने र मजदुरलाई काममा फर्काउनु पर्ने बताएका छन् । वडाअध्यक्ष पौडेलले पीडकलाई प्रहरीले पक्राउ गरेकै विषयमा स्थानीय मजदुर निकालेर भारतीय मजदुर मात्र उद्योगमा राख्नु जायज नभएको बताए । उक्त उद्योग सन्तोष उप्रेती, मिलन काफ्ले लगायतको टिमले सञ्चालन गर्दै आएको बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares