Banner news

शिवसताक्षीको एक वर्षे प्रगति सार्वजनिक

शिवसताक्षीको एक वर्षे प्रगति सार्वजनिक


बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकाले एक वर्षे कार्यप्रगति सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै एक वर्षमा नगरपालिकाले गरेका कामहरु सार्वजनिक गरिएको हो ।

नगर प्रमुख रोशन थोप्राले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गर्दै नगरवासीको हितमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाएका छन् । उनले स्रोतसाधनको उपलब्धता र नीति नियमको परिधिमा रहेर जनसेवामा क्रियाशिल भइरहेको जानकारी दिए ।

नगर प्रमुख थोप्राले भौतिक पूर्वाधार,कृषि तथा पशु, पर्यटन क्षेत्र, सामाजिक तथा सांस्कृतिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा सुशासन,नीतिगत सुधार लगायतका बारेमा प्रगति विवरण सार्वजनिक गरेका छन् ।

नगरको श्रोतबाट रंगियथान तथा मंगलवारे पारावारी कालोपत्रे सम्पन्न भएको थोप्राको भनाई छ । उनका अनुसार माइधार दोमुखामा कालोपत्रे गर्ने काम जारी छ । झिलझिले, दुधे शिवगञ्ज तथा धरमपुर पारावारी कालोपत्रे सडक मर्मत गरेको शिवसताक्षीले वडा कार्यालयको निर्माण लगभग सकेको छ । झिलझिले बसपार्कमा २ वटा ब्लक भवन निर्माण सम्पन्न भइसकेको नगर प्रमुख थोप्राको भनाई थियो ।

पत्रकार सम्मेलनमा उनले कृषि क्षेत्रमा व्यापाक काम गरिएको जानकारी दिए । कृषि तथा पशुको क्षेत्रमा नगरवासीको आवश्यकतालाई मध्यनजर गर्दै काम गरिएको उनको भनाई छ । कृषि बजार निर्माणदेखि नगरपालिकाले पकेट क्षेत्रमा अनुदान वितरण, मलविऊमा अनुदान, साझेदारीमा ३ सय किसानलाई मोटर तथा पाइप वितरण गरिएको मेयर थोप्राले जानकारी दिए । उनका अनुसार नगरले खाद्यन्न सुकाउने ड्रायर मेसिन खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाइसकेको छ । धान उत्पादन वृद्धिका लागि काम गर्दै आएको नगरले टनेल वितरणको योजनालाई अन्तिम चरणमा पुराएको छ ।

च्याउ तथा पशु पालनको वृद्धि विकासका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै औषधि वितरण गरिरहेको नगरले खोपहरु समेत प्रदान गर्दै आएको छ ।

यस्तै, नगरले पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई जोड दिएको छ । सताक्षीधाम तथा चिल्लागढको पर्यटकीय विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको नगर प्रमुख थोप्राले जानकारी दिए । आन्तरिक पर्यटन विकासका लागि दोमुखा, सताक्षीधाम र चिल्लागढमा लगानी बढाइएको छ । उनले भने – शिवगञ्ज बजार क्षेत्रमा पूर्वाधार तयार गरी कृषि पर्यटनको रुपमा विकास गरिनेछ ।

निर्वाचित भएपछि नगर प्रमुखले गरेको पहिलो निर्णय पुरा भइसकेको बताइएको छ । उनले नगरमा आगलागीबाट धनजनको क्षति बढेपछि दमकल खरिद गर्ने पहिलो निर्णय गरेको सुनाए । सोही निर्णय अनुसार दमकल खरिद गरेर काममा प्रयोग गरिसकेको जानकारी दिए । दमकलको प्रयोगबाट केहि समयअघि भारतीय भूभागमा समेत आगलागी नियन्त्रणमा सहयोग गरेको बताए ।

उनले एम्बुलेन्स तथा शव वहानको व्यवस्थापन गरिसकेको नगरपालिकाले सबै जाति, समुदाय र संकृतिको उत्थान तथा प्रवद्र्धन गर्ने काम गरिरहेको जानकारी दिए । धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुमा सडक वत्ती जडानको काम समेत सम्पन्न गरिसकेको बताइएको छ ।

पत्रकार सामु वार्षिक प्रगति राख्ने क्रममा उनले शिक्षा क्षेत्रमा गुणस्तर सुधार र भौतिक पूर्वाधारमा अधिकत प्रयास गरिरहेको जानकारी दिए । उनले प्रयास अनुरुप सुधार नभएपनि विगतमा भन्दा धेरै सुधार आइसकेको जानकारी दिएका छन् । शिक्षा क्षेत्रमा धेरै लगानी गर्ने सोच हुँदाहुँदै पनि नसकिएको स्वीकार गर्दै थोप्राले नगरमा निजी विद्यालयहरुको तुलनामा केहि सामुदायिक विधालयहरुले धेरै राम्रो प्रगति गरिरहेको बताए । उनले पठन संस्कृतिको विकासका लागि ज्ञान घर व्यवस्थापनको काम भइरहेको जानकारी दिए । नगर प्रमुख थोप्राले विधार्थी कार्यक्रमलाई थप प्रभावकारी बनाउदै शिक्षक, कर्मचारीको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

नगरले शिवगञ्जमा १५ शैयाको अस्पताल निर्माणलाई अन्तिम चरणमा पुराएको छ भने सवै वडाहरुमा आधारभूत स्वास्थ्यचौकीको स्थापना तथा जनशक्तिको व्यवस्थापन मिलाइएको नगर प्रमुख थोप्राले जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा आइपर्ने विपद समाधानका लागि संयन्त्र निर्माण गरिएको बताए । नगरका कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासमा प्राथमिकता दिएको शिवसताक्षीले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाइएको छ ।
उनले राजश्व परिचालनमा सुधार आएको बताए । ठेक्का बाहेकको १८ प्रतिशतले राजश्व वृद्धि भएको जानकारी दिएका छन् ।

नगर प्रमुख थोप्राले नगरमा कुनै समस्या आइपरे वा गुनासो भए गुनासो सुन्ने अधिकारीलाई अवगत गराउन आग्रह गरे । उनले हरेक नागरिककलाई सहजै सेवा, सुविधा उपलब्ध गराउन कर्मचारी प्रशासनलाई सूझाव समेत दिएका छन् ।
प्रमुख थोप्राले जग्गा वर्गीकरणको कामलाई अन्तिम चरणमा पुराएको बताउँदै नगरले सबै योजनाहरुको प्रभावकारी अनुगमनलाई प्राथमिकता दिएको बताए ।

सोही कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले न्याय सम्पादन र महिलाहरुको निमित्त भएका कामहरुको बारेमा जानकारी दिएकी थिइन् । उनले नगरको न्यायिक समितिबाट अधिकांश मुद्दा मेलमिलाप भइरहेको जानकारी दिइन् । कार्कीले भनिन् – न्यायिक समितिबाट नमिलेका कतिपय मुद्दाहरुलाई अदालत पठाइने गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले शिवसताक्षीमा सेवा प्रवाहलाई प्रभावकारी बनाइएको दावी गरेका छन् । उनले आगामी दिनमा थप प्रभावकारी बनाउदै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

शेयर गर्नुहोस :

0
Shares