बिर्तामोड । बिर्तामोड–भद्रपुर सडक खण्डमा रहेको प्रकाश आयल टे«डर्समा चुवाहट भई पानी मिसिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्यांङकीको वासर खकुलो भएर पानी छिरेको बुझिएको हो ।
इन्धनमा पानी मिसावट गरिएको भन्दै उपभोक्ताहरुले मंगलवार साँझ पम्पमा तोडफोडको प्रयास गरेका थिए । उक्त पम्पबाट इन्धन खरिद गरेका अधिकांशमा सवारीमा समस्या आएपछि दर्जनौं सवारी चालकहरु पम्पमा जम्मा भई क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए ।
पम्पमा मिसावट भएको इन्धन विक्रि गरेको गुनासोपछि आयल निगम चारआली शाखा, जिल्ला प्रशासन, नापतौलको ध्यानाकर्षण भएको थियो । नेपाल आयल निगम चारआली शाखाका प्रमुख भीम बहादुर विश्वकर्माले पम्प शिल गरेर विक्रि वितरण बन्द गरिएको जानकारी दिए । उनका अनुसार डे«न गरेर ट्यांङकी खाली गर्न लगाइएको छ । प्रमुख विश्वकर्माले भने – ‘प्रारम्भिक अनुसन्धानमा वासरमा लिकेज भेटियो । ट्याङकीमा पनि जाँच गर्नुपर्ने भएकाले निकाल्न लगाइएको छ ।’ ट्याङकी लिकेज भए मर्मत गर्नुपर्ने र अन्य प्राविधिक जाँचहरु गरेर मात्रै पम्प सञ्चालन प्रक्रिया अघि बढाउने उनको भनाई छ ।
नेपाल आयल निगम चारआली शाखाका प्रमुख विश्वकर्माले पम्पको प्राविधिक त्रुटि देखिएको स्पष्ट पारेका छन् । तेलमा पानी मिसावट गरेको होइन, वासरमा लिकेज देखियो , विश्वकर्माले भने – पानी र पेट्रोल घुल्दैन ।
पटक–पटक विवादमा आइरहने प्रकाश पम्प मेची आँखा अस्पताल पूर्वभागमा रहेको छ । पम्पले परिमाणमा समेत ठगि गर्ने गरेको गुनासो उपभोक्ताको छ । आयल निगमले परिमाणमा ठगी गरेको विषयमा यसअघि नै सचेत गराइसकेको बुझिएको छ ।







प्रतिक्रिया