Banner news

बिर्तामोड ५ को योजना शतप्रतिशत सम्पन्न, वर्षेनी पाँच युवालाई कुलतबाट जोगाउने लक्ष्य

बिर्तामोड ५ को योजना शतप्रतिशत सम्पन्न, वर्षेनी पाँच युवालाई कुलतबाट जोगाउने लक्ष्य


झापा बिर्तामोडका वडाहरुले चालू आर्थिक वर्ष २०७९-०८० मा गरेका विकास निमार्णका कामहरुको अध्ययन तथा अनुगमन गर्ने क्रममा वडा नम्बर ५ को कार्यसम्पादन चुस्त देखिएको छ । नीति तथा कार्यक्रम पुस्तिकामा समावेश गरिएको सत प्रतिशत योजनाका कामहरु सम्पन्न भएका छन् । यस वडाले आफ्नो योजनाका कामहरु साथै प्रदेश र संघीय सरकारका योजनाका कामहरुको सम्पन्नताका निम्ति पनि सहजीकरणका साथै प्रयास गरेको छ ।

विर्तामोड–५ सँग पनि अन्य वडाहरु झैं एक करोड १५ लाख रुपैयाँको वडा बजेट थियो । यस वडाले आफ्नो बजेटबाट ८८ लाख रुपैयाँ भौतिक पूर्वधारको विकासका निम्ति विनियोजन गरेको थियो भने बाँकी रहेको २७ लाख रुपैयाँ प्रवद्र्धनात्मक सामाजिक विकासका निम्ति विनियोजन गरेको थियो ।

यस वडाले चालू आ.वमा आफ्नो वडा गौरवको रुपमा ‘हिकोला रोडबाट पूर्व कृष्ण बर्मेलीको घर हुँदै तमुटोल पूर्व धर्मकाटा रोडसम्म जोड्ने बाटो पेवर्स’ योजनालाई २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो काम सम्पन्न भइसकेको छ, वडा अध्यक्ष रोहित प्रसाईंले वडा गौरवको काम सम्पन्न भइसकेको र यस कामले वडामा निक्कै महत्व राख्ने भएकाले अरु योजनाहरु सम्पन्न गर्न सहज भएको बताएका छन् ।

यस वडाले भौतिक पूर्वधार तर्फको आफ्नो अधिकांश रकम सडकमा लगाएको पाइएको छ । वडा अध्यक्ष प्रसाईंले यस वर्ष ढल नाला भएका बाटाहरुमा मात्र पेवर्स र कालोपत्रे गरेको बताए । उनले सडकमा सबैभन्दा पहिले ढल आवश्यक भएकाले पहिले ढल बनाएर मात्र कालोपत्रे र पेवर्स गरे प्रभावकारी तथा दिगो विकास हुने बताए । वडाले भौतिक पूर्वधारको आफ्नो बजेट मध्येबाट पाँच लाख रुपैयाँ कार्यालयको लागि आवश्यक ‘मेसिनरी सामान र फर्निचर खरिद’ र चार लाख रुपैयाँ खानेपानी तथा सरसफाईमा लगाएर अरु सबै सडकमा लगाएको तथ्याङकंले देखाएको छ । यस वडाले सडक स्तरोन्नति, ह्युम पाईप जडान, पेवर्स, कालोपत्रे र सडकको मर्मत संभारका विशेष प्राथमिकता दिएको पाइएको छ ।

यसैगरी समाजिक क्षेत्रको प्रवद्र्धनात्मक विकास तर्फ बालबालिका तथा जेष्ठ नागरिक प्रोत्साहन कार्यक्रम, आदिवासी जनजाति उत्थान विकास कार्यक्रम, महिला सशक्तिकरण तथा आयआर्जन कार्यक्रम, दलित लक्षित सशक्तिकरण कार्यक्रम, अशक्त तथा अपागंता भएका व्यक्तिहरुको क्षमता विकास कार्यक्रम र युवा तथा खेलकुद विकास कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ । यसैगरी टोल विकास संस्थाको क्षमता विकास तथा विभिन्न तालिम कार्यक्रम, ‘शिक्षा, स्वास्थ्य तथा पोषण कार्यक्रम’, अध्ययन अवलोकन भ्रमण कार्यक्रम, लागु औषध तथा दुव्र्यसन नियन्त्रण कार्यक्रम र महामारीजन्य रोगहरु सम्बन्धी सचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यसै आ.वमा आठ वटा नगरस्तरीय योजनाहरु सम्पन्न भएका छन् । ५३ लाखको भौतिक पूर्वधार तर्फका चार वटा योजना सम्पन्न भएका छन् । साथै ३० लाखमा सामुदायिक भवन निमार्णको योजना सम्पन्न भएको छ ।
वडामा नगरस्तरीय भौतिक पूर्वाधारको कामहरुमा ‘एमिटी रोडबाट विवेक निरौलाको घर हुँदै मित्रनगर टोल जाने बाटोमा नाला निमार्ण’, ‘मित्रनगर टोल दुर्गा थपलियाको घर जाने सडक पेवर्स विछ्याउने’, ‘बालाजी टोल अग्रसेन भवन जाने बाटो नाला निर्माण’ र पाथिभरा टोल रोड नं. ६ नाला तथा पेवर्स’ लगायतका योजनाहरु सम्पन्न गरेको छ ।

यसैगरी सामुदायिक भवन निमार्णको योजनामा अग्रसेन भवन, जेष्ठ नागरिक भवन वडा नं. ५, अलैची प्रवद्र्धन नेपाल अलैची व्यवसायी महासंगको भवन र किराँत कल्याण संघ घेराबारा लगायतका योजनाहरु सम्पन्न भएका छन् ।
यसका साथै यस वडामा प्रदेश सरकारबाट गणपति रोड श्रीकृष्ण मार्गमा पेवर्स लगाउने २५ लाख रुपैयाँको काम सम्पन्न भएको छ भने हाइवेबाट माता मन्दिर जाने धर्मकाँटा रोडमा कालोपत्रेका लागि २५ लाख रुपैयाँ परेको थियो तर ठेकेदार सम्पर्क विहीन भएकाले काम अलपत्र रहेको अध्यक्ष प्रसाईले जानकारी दिएका छन् । अध्यक्षले ठेकेदार हिमाल सिटौला भागेकाले गर्दा काम सम्पन्न गर्न नसकेको गुनोसो पोखे ।

यसैगरी संघीय सरकारद्वारा यस वडामा जिराइट रोडबाट बसपार्क जाने बाटोमा नाला सहित कालोपत्रे गर्नका निम्ति योजना परेको छ । तर, यो सडक निर्माणको ठेक्का पनि ठेकेदार हिमाल सिटौलाले नै पारेको हुनाले समयमै काम सम्पन्न होला कि नहोला भन्ने शंकामा रहेको अध्यक्ष प्रसाईले जानकारी दिए । उनले ठेकेदारको कारण धेरै सास्ती भोग्नु परेको बताए ।

अध्यक्ष प्रसाईले वडाले वार्षिक रुपमा पाँच जना लागुऔषध दुव्र्यसनमा लागेको युवालाई रिकभर गराउने काम सुरु गरेको बताए । उनले आगुऔषधले युवाहरुमा नकरात्मक प्रभाव पारेको र यसले समाज र देशलाई नै ठूलो प्रभाव पारिरहेको हुनाले युवाहरुलाई यसमा नलाग्न सचेतना दिदै लागेका युवाहरुलाई निकाल्न पनि जरुरी रहेको बताएका छन् । युवाहरु सुध्रिए मात्रै देश सुध्रिन सक्ने ठानेर उनले युवाहरुलाई सुधार गर्न सबै तहका सरकारले चासो देखाउनु पर्ने बताए ।

उनले लागुऔषधको दुव्र्यसनबाट एक जनालाई मात्र निकाल्न सकिदा पनि ठूलो उपलब्धी हुने बताए । साथै विर्तामोड–५ यसै चालू आ.वमा तीन जना युवाहरुलाई दुव्र्यसनबाट निकाल्न भइसकेको अध्यक्षको भनाई छ । उनले आगामी बजेटमा यो क्षेत्रमा अझ बजेट बढाएर लाने समेत जानकारी दिए ।

यसका साथै उनले विर्तामोड–५ लाई फुलैफूलको वडा बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले केही समय अगाडि वडाको विभिन्न ठाउँमा फूल रोपेको तर, त्यो मरेको हुनाले कार्यक्रम प्रभावकारी नभएको बताए । आगामी आ.वबाट पूरै योजना बनाएर हरेक घरको अगाडि गमला, बाल्टी वा पटमा फूल रोपाएर फुलैफूलको सुन्दर वडा बनाउन तिर लागिपर्ने उनले बताए ।

शेयर गर्नुहोस :

189
Shares