बालमैत्री वडा बनाउने अध्यक्षको योजना
बिर्तामोड नगरपालिकाको वडा नं.२ ले चालू आर्थिक वर्ष २०७९-०८० मा गरेका विकास निमार्णका कामहरुले वडालाई विकासको गति प्रदान गरेको छ । वडा नम्बर २ ले योजनाका ९५ प्रतिशत काम सम्पन्न गरेको छ । साथै बाँकी रहेका पाँच प्रतिशत काम पनि सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष किशोर प्रसाद पौडेलले जानकारी दिए ।
वडा नम्बर २ ले आफ्नो वडा बजेटदेखि अन्य नगर स्तरीय, प्रदेश सरकार र संघीय सरकारको योजनाको कामहरु पनि सम्पन्न गरेको छ । यस वडाले आफ्नो वडाभित्र परेको सम्पूर्ण योजनाहरुको प्रगति हेर्दा जनप्रतिनिधिहरुको भूमिका प्रशंसनीय रहेको पाइएको छ ।
विर्तामोडका अन्य वडाहरुले झैं यस वडाले पनि आफ्नो बजेटको ठूलो रकम भौतिक पूर्वधारको विकासको निम्ति छुट्याएको थियो । वडाले आफ्नो कुल बजेटबाट करिब ९५ लाख रुपैयाँ भौतिक पूर्वधारको क्षेत्रमा विनियोजन गरेको थियो । वडा अध्यक्ष किशोर कुमार पौडेल नागरिकहरुको धेरै माग नै भौतिक पूर्वाधार तर्फ हुने गरेकाले बजेट पनि त्यसै अनुरुप तयार गरिएको बताउँछन् । वडाको आवश्यकता र नागरिकहरुको मागले गर्दा भौतिक पूर्वाधामा धेरै बजेट विनियोजन भएको उनले बताएका छन् । उनले नागरिकहरुले भौतिक पूर्वधार तर्फ नागरिकहरुले बाटो, बिजुली र पानीमा अत्याधिक धेरै माग राखेको जानकारी दिए ।

यस वडाले भौतिक पूर्वधार तर्फका कामहरुमध्ये पनि सडकको स्तरोन्नतिलाई धेरै प्राथमिकता दिएको छ । यस वडाले चालू आ.वमा सडकको स्तरोन्नतिका लागि ग्राभेल तथा इन्धन खरिदमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी २४ लाख रुपैयाँमा शहिद मार्ग पूर्व लालबहादुरको घर हुँदैै उत्तर राजमार्गसम्मको सडकमा दुवै तर्फ प्लम निर्माण, प्रदिपभट्टा जाने बाटोमा प्लम सहित स्तरोन्नति, अर्जुन भट्टको घर हुँदै उत्तर पार्वता सिग्देलकोसम्म दुवै तर्फ प्लमसहित बाटो निर्माण, शहिद मार्ग पश्चिम बालकल्याण एकता मार्गसम्म दुवै तर्फ प्लम निर्माण लगायतका कामहरु भएका छन् । यि सडक निमार्णको काम वडा सरकार र स्थानीय उपभोक्ताको ६०÷४० सहलगानीमा सम्पन्न भएको हो । यसका साथै वडा सरकारको एकलौटी लगानीमा छ लाखमा शहिद मार्ग पूर्व विन्दु श्रेष्ठको घर तर्फ प्लम निर्माणको काम सम्पन्न गरेको छ ।
विर्तामोडका अधिकांश वडाहरुले स्थानीय सरकार र नागरिकको सहलगानीमा आधारित नीतिलाई कुशल ढंगले प्रयोग गरिरहेका छन् । जसले गर्दा विर्तामोडमा यथेष्ट रुपले विकासको अनुभूत नागरिकहरुले गरिरहेका छन् ।
वडा नम्बर २ ले भौतिक पूर्वधारको बजेटमध्ये करिव ५० लाख रुपैयाँ सडकका विनियोजन गरेता पनि वडा स्तरीय साना योजना तथा विजुली पोल, तार विस्तार तथा ह्युमपाईप खरिदमा १४ लाख र राधाकृष्ण सामुदायिक भवन मर्मत संभारका निम्ति ८ लाख ५० हजार लगायतका कामहरु पनि सम्पन्न गरेको छ । यसका साथै वीर अमरसिंह मा.विमा स्कुल बस खरिदका निम्ति १० लाख वडा सरकारले विनियोजन गरेर सामुदायिक विद्यालयका बालबालिकाहरुलाई स्कुल बसको पहुँचमा पु¥याउन सफल भएको छ ।
यसका साथै सामाजिक क्षेत्रको प्रबद्र्धनात्मक विकासमा पनि विर्तामोड–२ ले उल्लेखनीय काम गरेको पाइएको छ । यस वडाले सामाजिक क्षेत्रमा गरेको काममध्ये ‘बालमैत्री स्थानीय शासन सञ्चालन’ कार्यक्रम निक्कै प्रभावकारी भएको पाइएको छ । यसका साथै विपन्न परिवारका सदस्यको मृत्यु हुँदा सहयोग गर्ने कार्यक्रम निक्कै लोकप्रिय भएको पाइएको छ । यस वडाले आफ्नो नागरिकको मृत्यु भएमा समवेदना पत्र लगेर नागरिकहरुको दुःखमा पनि सहभागी बनिरहेको पाइएको छ । त्यसका साथै महिला, युवा तथा दलित लक्षित कार्यक्रमहरु, कृषकहरुलाई मल तथा वितरण कार्यक्रमहरु लगायतका कामहरु गरेको पाइएको छ ।
यसका साथै विर्तामोड–२ मा तीन वटा नगरस्तरीय कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । यस वडामा परेका तीन वटा नगरस्तरीय कार्यक्रम मध्ये दुई वटा भौतिक पूर्वधार र एउटा सामुदायिक भवन निमार्णको काम रहेको थियो । यस वडाले यि कामहरु पनि सम्पन्न गरिसकेको छ । यस वडामा ८ लाखमा बेलडाँगीमा कल्भर्ट निर्माण र रु. छ लाखमा स्वर्गद्वारी मार्गमा कल्र्भट निर्माणको काम नगरस्तरीय योजनामा समावेश भएका थिए । यसका साथै रु. १५ लाखमा शहिद स्मृति प्रतिष्ठानको भवन निर्माणको काम पनि सम्पन्न भएको छ ।
यस वडामा चालू आ.वमा प्रदेश सरकारबाट गोकुल जोशी मार्गमा प्लम र बक्स लगाउने काम सम्पन्न भएको छ । साथै संघीय सरकारबाट सांगवेद संस्कृत मावि अगाडिको सडक कालोपत्रे भएको छ । यो नगर र संघको ५०÷५० प्रतिशत लागत सहभागिताको योजना हो । यसका साथै संघीय सरकारबाट चैतुबारीबाट सोमबारे जाने सडक कालोपत्रेको काम भइरहेको वडा अध्यक्ष पौडेलले बताए । उनले यो सडक सम्पन्नको अन्तिम चरणमा रहेको जानकारी दिए ।
बालमैत्री वडा बनाउने अध्यक्षको योजना
बिर्तामोड वडा नम्बर २ का अध्यक्ष किशोर कुमार पौडेलले आफ्नो वडालाई बालमैत्री वडा बनाउने योजना रहेको बताएका छन् । उनले बालबालिका भोलिको कर्णधार र देशका भविष्य भएका कारणले बालबालिकालाई उचित शिक्षा र संस्कार दिने योजना रहेको बताएका छन् । उनले उत्साहित हुँदै भने ‘कम्तिका म वडा अध्यक्ष भएको बेला बालबालिकाको निम्ति केही खास काम गरौं भन्ने लागेको छ ।’
अध्यक्ष पौडेलले आफ्नो मुख्य उद्देश्य नै बालमैत्री वडा घोषणा गर्ने भएकाले कार्ययोजना पनि त्यसै अनुरुप निर्माण गरेको बताए । त्यसका लागि यस वडाले बालबालिका लक्षित कार्यक्रमहरु गरिरहेको उनले बताए । आगामी वर्षमा पनि बालबालिकाका क्षेत्रमा धेरै बजेट विनियोजन गरिने उनको भनाई छ ।
आफ्नो वाडको बालबालिकाहरुलाई शिक्षित सक्षम र सबल नागरिक बनाउन सके आगामी दिनहरुमा सम्पूर्ण समुदाय आफैं विकसित हुने बुझाई रहेको छ । आउदो पुस्तालाई समृद्ध बनाउन बालबालिकाको क्षेत्रमा आफू केन्द्रित भएर लागेको उनको भनाई छ । उनले भने ‘मलाई शिक्षा र बालबालिकाका क्षेत्रमा यस वडामा विषेश काम गर्नुछ । त्यसलाई एउटा बेग्लै उचाई दिनुछ ।’

उनले वडा नम्बर २ मा वर्खायाममा धेरै समस्या हुने गरेको बताएका छन् । उनले आफ्नो वडामा वर्खाले दिएको दुःखलाई कम गर्न सके पनि धेरै उपलब्धी हुने बताए ।
यहाँ वर्षायाममा पानी ओभर फ्लो हुने समस्या रहेको छ । यस वडा महेन्द्र राजमार्ग उत्तर तिर पर्ने भएकाले दक्षिण तिरका सम्पूर्ण पानीहरुले यस वडालाई दुःख दिने गरेको बुझिएको छ । अध्यक्षले आफ्नो वडा तिर प्रवेश गर्ने पानीलाई ट्रयाक बनाएर घाग्रा खोलामा पु¥याउन सके धेरै उपलब्धी हुने बताए ।
राजमार्गबाट उत्तर तिरको पानी बिगतको समयमा बाडिएर विभिन्न कल्र्भटहरुबाट जाने गर्थे । तर, अहिले विर्तामोड–२ लाई विर्तासिटी अस्पताल अगाडि देखिको पानीले प्रभाव पार्ने गरेको अध्यक्ष पौडेलले बताएका छन् । यो पानीको समस्यालाई समाधान गर्ने गरी काम गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।
वडाले आफ्नो वडालाई बालमैत्री बनाउन विभिन्न कार्यक्रमहरु गर्ने गरेको साथै वडा स्तरीय बाल क्लबको गठन गरेर त्यहाँबाट पनि बालबालिकालाई सक्रिय बनाइरहेको छ । वडा अध्यक्ष पौडेलले अबको दुई वर्ष भित्रमा बालमैत्री वडा घोषणा गर्ने लक्ष्य रहेको सुनाए ।







प्रतिक्रिया