Banner news

बिर्तामोडका वडाध्यक्ष कन्दङवाले उठाएका दुई सवाल

बिर्तामोडका वडाध्यक्ष कन्दङवाले उठाएका दुई सवाल


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आइतवार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले नीति कार्यक्रम प्रस्तुत गरिन् भने उपप्रमुख नगेन्द्र संग्रौलाले बजेट पेश गरेका थिए ।

उक्त कार्यक्रममा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि वडा नं. ६ का वडा अध्यक्ष सुर्यप्रसाद कन्दङवाले शुभकामना मन्तव्य राखे । उनले शुभकामना मन्तव्य दिने क्रममा उठाएका दुई वटा सवालले राम्रै समर्थन पायो । वडाध्यक्ष कन्दङवाले तालीका लागि नभई आवश्यकताले ति सवाल उठाएको गाँईगुँई भयो । कर्मचारीले सामाजिक सञ्जालमा अमर्यादित रुपमा प्रस्तुत हुने गरेको र हाजिर गरेर मात्रै तलव खाइरहेको लगायतका सवालहरु उठाए । धेरै सवालहरुमध्ये दुई वटा सवाललाई सबैले नोट समेत गरेका थिए । दुवै सवाल राख्ने क्रममा कर्मचारीहरुले नै धेरैजसो समर्थन गरे ।

बिर्तामोड नगरपालिकामा एक कर्मचारीले कर्मचारीबीचको अन्तरद्वन्द्वमा नगरपालिकालाई जोडर सामाजिक सञ्जालमा टिप्पणी गरेको विषय चर्चाको विषय बनेको छ । अहिले वडा नं. २ को स्वास्थ्य संस्थामा कार्यरत तुलसी पोखरेलले दिदैं आएको टिप्पणी गैरजिम्मेवार, अमर्यादित, अनुशासनहीन भएको अधिकांशको तर्क छ । कर्मचारीहरुकै तहबाट समेत पोखरेलको टिकाटिप्पणीले सिमा नाघेको चर्चा छ । नगरको नीति नियम नमान्ने, खटाएको ठाउँमा नजाने पोखरेल अहिले वडा नं. २ मा कार्यरत छन् । उनको टिकाटिप्पणीले नगरसभामा समेत सांकेतिक रुपमा प्रवेश पायो । वडाध्यक्ष कन्दङवाले संभवतः सोही विषयलाई उठाएको हुनुपर्ने अधिकांशको अनुमान थियो । उनले कुनै कर्मचारीबीच समस्या भए समाधान गरेर जानुपर्ने तर फेसबुकबाजी गर्न नहुने बताए । कोहि कर्मचारी फेसबुकबाजीमा उत्रिए कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाउने भन्दै सचेत र सजग रहन आग्रह गरेका छन् ।

अध्यक्ष कन्दङवाले हाजिर गरेर मात्रै तलव खाने कर्मचारीहरुको बारेमा समेत सूचना आइरहेको भन्दै कर्मचारीहरु जवाफदेही हुनुपर्ने बताए । बिर्तामोड नगरपालिकालाई संमृद्ध नगर बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध र समन्वय हुनेपर्ने वडाध्यक्ष कन्दङवाको भनाई थियो । जनप्रतिनिधिहरुले कुनै विषय सच्याउनुपर्ने भए खुला रुपमा राख्न भन्दै अध्यक्ष कन्दङवाले भित्रभित्र स्तानीय सरकारको बद्नाम हुने काम बन्द गर्न सूझाव दिए । नीति कार्यक्रम सार्वजनिक कार्यक्रममा उठाएका दुई सवालले आगामी दिनमा सुधार हुने धेरैले अपेक्षा गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares