Banner news

बिर्तामोडको बजेट, नीति तथा कार्यक्रम पारित

बिर्तामोडको बजेट, नीति तथा कार्यक्रम पारित


बिर्तामोड । बिर्तामोड नगरपालिकाको आगामी आर्थिक वर्ष ०८०-८१ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।
आज बसेको दोस्रो नगरसभाको तेस्रो नगर अधिवेशन अन्तर्गतको दोस्रो बैठकले बजेट, नीति तथा कार्यक्रम पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले जानकारी दिए । बजेट , नीति तथा कार्यक्रमसहित विधेयक र प्रस्तावहरु पारित भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले घोषणा गरेकी थिइन् ।

गत असार १० गते प्रस्तुत भएको बजेट, नीति तथा कार्यक्रममा पर्याप्त छलफल गरेर नगरसभाले पारित गरेको हो । दोस्रो बैठकले नगरसभामा पेश गरिएको लिखत प्रमाणिकरण सम्बन्धी विद्येयक–२०८०, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन –२०७८ लाई संशोेधन गर्न बनेको विद्येयक –२०८०, न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन– २०७४ लाई संशोधन गर्न बनेको विद्येयक २०८० र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक–२०८० पारित भएको छ । नगरसभाको पहिलो बैठकमा विद्येयक समिति संयोजक शर्मिला राजवंशीले उक्त विद्येयक पेश गरेकी थिइन् ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पेश गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट पारित गरिएको छ ।

दोस्रो बैठकमा वडा नं. १० का सदस्य पृथ्वीबहादुर बस्नेत, ६ का सदस्य जीवन बाँस्कोटा, ५ का सदस्य दुर्गा प्रसाद शिवाकोटी, ८ का सदस्य अग्नि प्रसाद सिटौला, ७ कि सदस्य हेमलता विक, ६ नं. सदस्य गीता रेग्मी शर्माले सूझावसहित आफ्नो भनाई राखेका थिए । छलफलमा भाग लिदैं उनीहरुले बिर्तामोडमा यौनजन्य घटना वृद्धि भइरहेकोले त्यसको नियमनका लागि चासो देखाउनुपर्ने सूझाव राखेका थिए ।

वैदेशिक रोजगारीका क्रममा धेरै नागरिकहरु ठगिएको घटना सुनाउदै बिर्तामोड नगरपालिकाभित्रका मेनपावरहरुको प्रभावकारी अनुगमन गर्नुपर्ने, वडा नं. ६,७,८ मा समस्याको रुपमा रहेको हात्ती नियन्त्रणका लागि पहल गर्नुपर्ने, यसक्षेत्रभित्र वास्तविक सुकुम्बासीहरुको पहिचान गरेर सरकारी जमिनको संरक्षणमा विषेशअभियान सञ्चालन गर्नुपर्ने सदस्यहरुको सूझाव थियो ।

यस्तै, सदस्यहरुले नगरबाट जनचेतनाभन्दा धेरै सीपमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, दलित ,आदिवासी एवम् लक्षित वर्ग समुदायका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आर्थिक उपार्जनमा टेवा पुर्याउनुपर्ने धारणा रोखका छन् ।

बिर्तामोड नगरपालिकाले सुर्तिजन्य पदार्थ चुरोट, खैनी, गुट्का आदिको विक्री वितरण गर्न नपाउने नीति कार्यक्रमको सबैले प्रशंसा गरेका छन् । नगर प्रमुख पवित्रा देवि महतारा प्रसाईले नागरिकको स्वास्थ्यप्रति संवेदनशिल भई नीति तथा कार्यक्रममा सुर्तिजन्य पदार्थ विक्री वितरणमा पुर्ण रुपमा रोक लगाईने विषय उल्लेख गरिएको बताइन् ।

पारित भएको नीति कार्यक्रममा नगर अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा संचालन गरिनुका साथै डायलाइसिस सेवा सुचारु गरिने, नगर भित्रका अति बिपन्न परिवारलाई छनौट गरी निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिईने, सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न नगरमा स्थायी बसोबास भएका विद्यार्थीलाई पहिलो प्राथमिकता कम्तीमा ८० प्रतिशत सिट सुरक्षित हुने गरी भर्ना गराउने उल्लेख गरिएको छ ।

कन्काई विर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनीलाई ३ वटा नगरपालिकाको स्वामित्वमा लिई नगरपालिकाहरुको आपसी सहमतीबाट फोहोरमैलाकोे व्यवस्थापन गरिने, श्रोतमा नै फोहोरको वर्गीकरण गर्ने कार्यलाई अभियानको रुपमा लैजाने र कुहिने फोहोरबाट पुर्णरुपमा बायोग्याँस, जैविक मल तथा नकुहिने फोहोरबाट पेर्वस उत्पादन कार्य गरिने बताइएको छ ।

अस्पताल, कारखाना र औद्योगिक फोहोर सम्बन्धित उद्योगहरुले नै व्यवस्थापन गर्ने, नगर क्षेत्रभित्रका खोला र पैनीको जमिनको साँध सिमाना नक्सांकन गर्ने र नगर क्षेत्रको ऐलानी जमिनको नापजाँच गरी क्षेत्रफल एकिन गरिने कार्यक्रममा ल्याइएको छ ।

प्रदुषणमुक्त पूर्ण सरसफाइयुक्त हरित नगर निर्माण गर्नका लागि सार्वजनिक खाली ठाउँमा वृक्षारोपण गरिने र हरेक घरधनीले आफ्नो घर अगाडि २ वटा बिरुवाहरु रोप्न प्रोत्साहित गरिने नीति कार्यक्रममा उल्लेख छ ।
लोकप्रिय कार्यक्रमहरु समावेश भएको नीति कार्यक्रम शतप्रतिशत जनप्रतिनिधिले पारित गरेका छन् । छलफलमा सहभागीहरुको जिज्ञासा लगायतका सन्दर्भमा नगर प्रमुख प्रसाईले जवाफ दिएकी थिइन् । उनले नगरको समृद्धिका लागि सबै जनप्रतिनिधि र नगरवासीबीच सकारात्मक समन्वय हुनुपर्ने बताइन् । उनले नीति कार्यक्रममको पूर्ण कार्यान्वयन गर्न समेत आग्रह गरेकी छन् ।

शेयर गर्नुहोस :

0
Shares