– प्रदीप परियार
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ का युवाहरु गाउँको सुरक्षाका लागि रात्रीकालिन गस्ती गरिरहेका छन् । गाउँघरमा रात्रीकालिन हुन सक्ने संभावित दुर्घटनालाई न्यूनिकरण गर्न युवाहरु क्रियाशिल भएका हुन् ।
वडा नं. १ मा रहेको गौरी, नारायण र पूर्वी शान्ती टोलका युवाहरु संयुक्त रुपमा गस्ती गर्दै आएका छन् । संयुक्त टोल सुरक्षा दस्ता बनाएर सुरक्षार्थ खटिदै आएको दस्ताका एक अगुवा विमल भट्टराई बताउँछन् । उनका अनुसार तुलसीराम मैनाली , रमेश अधिकारीसहितको अगुवाईमा सुरक्षा गस्ती परिचालन भइरहेको छ । हरेक दिन राती ९ बजेबाट गस्ती गर्ने गरेको भट्टराईले जानकारी दिए ।

आफ्नो टोललाई चोरी डकैती, घुसपैड, लागुऔषध दुव्र्यसन, कुटपिट मारामारबाट सुरक्षित बनाउन गस्तीको सुरुवात गरिएको उनको भनाई छ । गाउँटोलमा लागुऔषधको किनबेच, प्रयोगकर्ता भेटिने वित्तिकै प्रहरीमा बुझाउने गरिएको छ, भट्टराईले भने – हामीले निगरानी गर्ने हो । केहि कैफियत भेटिएमा प्रहरीलाई सम्पर्क गरेर बुझाइदिन्छौं ।
हालसम्म उनीहरुले लागुऔषधमा संलग्नहरुलाई प्रहरीसम्म बुझाएका छन् । उनका अनुसार सिने प्लाजा क्षेत्रमा कोठा भाडामा लिई यौनधन्दा सञ्चालन गर्नेलाई समेत प्रहरीमा बुझाइएको छ । कोठाभाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको थाहा पाएपछि निगरानी गरेर प्रहरीलाई खवर गरियो, उनले भने । एक जोडीलाई विवाह गर्ने हो हामी भनेपछि छोडिएको थियो, गस्ती दस्ताका एक सदस्यले इजलासलाई जानकारी दिए ।

राती आवश्यकताको आधारमा समय निर्धारण गरेर गस्ती गर्दै आएको दस्ताले लाठीसहित परिचालित हुने गरेको छ । उनीहरुले कसैलाई पनि असभ्य व्यवहार नगर्ने, सभ्य ढंगबाट सोधपुछ गर्ने गरेको बताएका छन् । एक महिनादेखि सुरु गरेको सुरक्षा दस्ताको अभियानलाई निरन्तरता दिने उनीहरुको योजना छ ।
टोलको सुरक्षामा खटिएको सो समूहमा करिव ८० जना आवद्ध रहेको बुझिएको छ ।








प्रतिक्रिया