विनोद सापकोटा
झापा – भारतबाट नेपालमा आउने प्रतिबन्धित पन्छी जन्य बस्तु बोइलर कुखुरा भित्रन थालेपछि कोशी प्रदेशका व्यवसायीहरु चिन्तित बनेका छन् ।
भारतसंग सीमा जोडिएका झापा, मोरङ र सुनसरीका दक्षिणी नाकाबाट कुखुराको तस्करी बढेको भन्दै स्थानीय प्रशासनसंग व्यवसायीले त्यस्तो प्रतिबन्धित कुखुराजन्य बस्तुको अवैध आयात तत्काल रोक्न माग गरेका छन् ।
झापाका नकलबन्दा, काकडभिट्टा,भद्रपुर,कचनकवल,झापा बजार, कुन्जीबारी, गौरिगन्ज लगायतका नाकाबाट दिनहुँ भारतीय बोइलर कुखुराको आयात हुने गरेको जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए । उनका अनुसार मोरङको गोविन्दपुर, रङ्गेली, आमबाडी लगायतका नाकाबाट पनि दिन दहाडै जिउँदो बोइलर कुखुरा, त्यसको तयारी मासु र अण्डाको अवैध आयात हुने गरेको छ ।

यी नाकाबाट दैनिक ५ हजारभन्दा बढी कुखुरा भित्रिएको भन्दै व्यवसायीहरुले प्रतिबन्धित कुखुराको अवैध आयात तत्काल रोक्न माग गरेका छन् । प्रदेशका व्यवसायीहरूले शुक्रवार कोशी प्रदेश प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजेशनाथ बास्तोला लाई ज्ञापनपत्र बुझाउँदै भनेका छन्,‘ भारतीय प्रतिबन्धित ब्रोइलर कुखुराको अवैध आयात नरोके कृषि पेशामा आत्मनिर्भर एकमात्र पोल्ट्री फार्म व्यवसाय धराशायी अवस्थामा पुग्नेछ ।’
अवैध रुपमा भित्रने कुखुराले झापा, मोरङ र सुनसरीका पोल्टी फर्म सञ्चालन गरेका व्यवसायीहरुको व्यापार धरापमा परेको व्यवसायीको गुनासो छ । ‘कुखुराको चल्ला, अन्डा र दाना उत्पादन गर्न व्यवसायीको अरबौं रुपयाँ लगानी रहेको छ,’ मेची पोल्ट्री फार्मका सञ्चालक सुबोध निरौलाले भने,‘ भारतबाट अवैधरुपमा आयात हुने कुखुराजन्य बस्तुले नेपाली व्यवसायीको लगानी डुबाउने खेल सुरु भएको छ । यसलाई तत्काल नियन्त्रण गर्न हाम्रो माग हो ।’
झापामा मात्र कुखुराजन्य बस्तुको उद्योगमा करिब ८ हजारले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने २ हजार घरपरिवारको यसैबाट गुजारा चलेको जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए ।
यसैबीच व्यवसायीले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले व्यावसायिको गुनासो प्रति आफू गम्भीर रहेको बताए । उनले मातहतका सुरक्षा निकायलाई भारतसँग सिमाना जोडिएका नाकामा सक्रियता बढाउन निर्देशन समेत दिए । उनले भने,‘ तपाई व्यवसायीहरु ढुक्क हुनुहोस् ।
नेपाल प्रहरी भारतीय प्रतिबन्धित कुखुरा जन्य बस्तुको अवैध आयात रोक्न निर्मम ढंगले अघि बढ्नेछ ।’
व्यवसायीले शुक्रबारै सशस्त्र प्रहरीका प्रहरी प्रदेश प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार खरेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् । व्यवसायीको गुनासो प्रति आफू जिम्मेवार भएको भन्दै उनले भने,‘ २४ घण्टाभित्रै ठोस रिजल्ट आउनेगरी सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन हुने छ ।’







प्रतिक्रिया