Banner news

झापामा ८७ हजार ५०० हेक्टरमा धान खेतीको तयारी

झापामा ८७ हजार ५०० हेक्टरमा धान खेतीको तयारी


झापा । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा ५३ प्रतिशत रोपाई भइसकेको कृषिज्ञान केन्द्र झापाले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत बर्षको तुलनामा दुई प्रतिशत बढी रोपाई भएको हो । समयमै बर्षात सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गतबर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइ गर्न सकिएको उनले बताए ।

झापामा यसबर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । जसमा ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । हाल दैनिक बर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको वहाब बढेका कारण किसानलाई रोपाईका लागि पर्याप्त पानी पुगिरहेको उनको भनाई छ ।

जिल्लामा नियमित सिञ्चाईका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिंचाई आयोजना छन् । कृषि ज्ञान केन्द्र झापाले धान खेतीमा नविनतम मेशनरी प्रयोग कार्यक्रम अन्तरगत कनकाई नगरपालिका र गौरादह नगरपालिकामा ३५ कठ्ठा जमिनमा छरुवा धान खेती समेत गरिएको जानकारी दिए ।

उनका अनुसार कनकाई नगरपालिकाको विनुबाजा कृषि सहकारी संस्थाले २५ कठ्ठा र गौराह नगरपालिकामा रहेको महारानी झोडा कृषि सहकारी संस्थाले १० कठ्ठामा ज्ञान केन्द्रको सहयोगमा छरुवा धानको खेती गरेका छन् । जिल्लामा यही रफ्तारमा रोपाइ चलेमा साउनको पहिलो हप्तासम्ममा धान रोपाई सकिने अनुमान गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares