बिर्तामोड । झापाको दक्षिणी सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १९ बोरा चिनीसहित एउटा पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा मङ्गलवार बिहान १० बजे बिर्तामोड नगरपालिका– ५ स्थित कृषि बजारबाट ९५० केजी चिनीसहित प्र १–०१–००१ च ९९०१ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो । कृषि बजारको एक किराना पसलमा अनलोड गर्दै गरेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको छ ।

बरामद गरिएको चिनी ७० हजार र गाडी ८ लाख मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइदिएको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरु तिम्सिनाले जानकारी दिए । कारोबारी स्रोतका अनुसार सो चिनी राजगढ बजारबाट बिर्तामोड ल्याइएको हो ।
तस्कर समूहले तस्करीको माध्यमबाट भन्सार छलेर चिनी राजगढ बजारमा भण्डार गर्ने र त्यसपछि गाडी वा ट्याक्टरमा हालेर बिर्तामोडका विभिन्न पसलहरूमा पुर्याउँदै आएको कारोबारी स्रोतको दाबी छ । त्यस्तै प्रहरीले विभिन्न मितिमा बरामद गरेको करिब दुई लाख मुल्य बराबरको कपडा र किनारा सामग्री पनि भन्सार बुझाएको जनाइएको छ ।







प्रतिक्रिया