बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगडी सडक खण्ड समयमा नसकिने निश्चित भएको छ । सम्झौता बमोजिम साउनको पहिलो हप्तामा काम सक्नुपर्ने थियो । सडक निर्माणको काम सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । उक्त सडक अहिले ३० प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजनको निष्कर्ष छ ।
०८० साउन ६ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सडकको ३० प्रतिशत मात्रै निर्माण सकिएको भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले जानकारी दिए । उनका अनुसार अब वर्खामा काम रोकिन्छ ।

०७७ साल माघमा कन्टेक प्रा.लिले सम्झौता गरेको सडक बिर्तामोड–चन्द्रगडी ८.४१ किलोमिटर रहेको छ । भद्रपुरस्थित मेची पुलसँग जोडिने उक्त सडक समयमा निर्माण नहँुदा सास्ती भोगिरहनु परेको छ । सबैको चासोको सडक बिर्तामोड–चन्द्रगडी सडक खण्ड ५८ करोडको लागतमा निर्माण भइरहेको छ । जिल्लाको सदरमुकाम जोड्ने मुख्य सडक निर्माण मै चरम लापरबाही भएको उपभोक्ताको गुनासो छ ।
निर्माण व्यवसायीले कोभिड र त्यसपछिको मुल्य वृद्धिका कारण कामलाई तीब्रता नदिएको सडक डिभिजनले जनाएको छ । कतिपय ठाउँहरुमा स्थानीय अवरोधका कारण पनि काम रोकिएको सडक डिभिजनका प्रमुख पौडेल बताउँछन् । उनले माटो पुर्ने काममा धेरै समय लागेको सडकमा अब कालोपत्रे र विधुतको पोल व्यवस्थापन मुख्य काम रहेको जानकारी दिए ।
वर्खाका कारण तीन महिना काम हुदैन, पौडेलले भने – वर्खा सकिएको ६ महिनामा काम सक्नैपर्छ । त्यसका लागि म्याद थप गर्न माग भएको छ । सो समयमा पनि काम नसके ठेक्का रद्द गरिने डीई पौडेलले जानकारी दिए । वर्खाअघि देउनियासम्म कालोपत्रे हुन्छ भन्ने विश्वास थियो, पौडेलले थपे – त्यो पनि पुरा हुन सकेन ।
डे«नसहितको कालोपत्रे गर्ने सम्झौता गरेको निर्माण कम्पनीले समयमा काम नसक्दा वर्खायाममा आम नागरिकले कष्ट व्यहोर्नु परेको छ ।







प्रतिक्रिया