बिर्तामोड । परिवार नियोजन संघ झापाको आसन्न निर्वाचनमा सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा वर्तमान सभापति लोकनाथ भट्टराई ‘बुईपाली’ र सचिव गणेश पोखरेल रहेका छन् । संघको निर्वाचन असार ३० गते हुदैछ ।
सभापतिका उम्मेदवार बनेका गणेश पोखरेल विभिन्न सामाजिक संस्थाको सफल नेतृत्व गरेका व्यक्ति हुन् । उनलाई नेकपा एमालेसहित कांग्रेस र राप्रपाको समर्थन रहेको छ ।
नेकपा एमालेले पोखरेललाई पार्टीको आधिकारिक उम्मेदवार बनाएको छ । बुईपाली भने एमालेबाट कारबाहीमा परेका व्यक्ति हुन् । उनलाई एमालेले निर्वाचनमा अन्तरघात गरेको आरोपमा जिल्ला सल्लाहकार परिषदको सदस्यबाट हटाएको छ ।

यसैगरी , सभापति पदका उम्मेदवार पोखरेलले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेपाल परिवार नियोजन संघको बन्दै गरेको क्लिनिकल भवनलाई पुर्णता दिने, अहिलेको भवन पुरानो भएकाले नयाँ र आधुनिक भवन निर्माणका लागि स्रोत व्यवस्थापन र काम सुरु गर्ने, चारआली, पृथ्वीनगर र दमकको क्लिनिकल सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन समन्वय गर्ने, स्वयम्सेवक र कर्मचारीबीचको समन्वयलाई प्रभावकारी बनाउने, संघका सबै सदस्यलाई संघले सञ्चालन गर्ने नीति, योजना र कार्यक्रममा सहभागिताको वातावरण बनाउने, गलत नियतले हटाइएका संघका सदस्यलाई पुनः सदस्य बनाउने, सामाजिक काममा अगुवा रहनु भएका नागरिकलाई संघको सदस्य बन्ने वातावरण बनाउने रहेको छ ।
संघप्रतिको विश्वासको वातावरणलाई बृद्धि गर्दै झापाको अग्रणी सामाजिक संस्थाको रुपमा स्थापित गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरी आधारभुत तहमा सचेतना अभियान सञ्चालन गर्ने र संघका अग्रजहरुको अनुभव र युवाहरुको योजनासहित स्मारिका प्रकाशित गर्ने पोखरेलले प्रतिवद्धता गरेका छन् ।
संघको निर्वाचन आउँदो शनिवार संघको कार्यालय चन्द्रगडीमा विहान ११ वजेदेखि ४ बजेसम्म हुने बताइएको छ ।







प्रतिक्रिया