झापा । झापामा बाल शिक्षकहरुलाई तालिम दिने भनेर एक व्यक्ति विभिन्न विद्यालयहरुबाट रकम असुली गरि सम्पर्क विहीन भएका छन् । तालिमका लागि शुल्क बुझाउनेहरुले सम्पर्क गर्दा सम्पर्क नभएपछि ठगिएको बताएका छन् ।
एजुकेसन डेभलपमेन्ट प्रोग्राम नामक संस्थाका सागर चौधरी नाम बताउने ती व्यक्तिले गत वैशाख १६ गते नै चन्द्रगढीमा बाल शिक्षकहरुका लागि उपयोगी तालिम सञ्चालन गर्ने भन्दै धेरै स्कुलहरु पुगेर रकम संकलन गरेका थिए । संस्थागत रुपमै तालिम संञ्चालन गर्ने भनेपछि विद्यालयहरुले विश्वासमा रकम बुझाएका थिए । मेचीनगर–१३ को बालसुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापाले ठगिमा परेको सामाजिक संजालमा सार्वजनिक गरेका छन् । उनले तालिमको बहानामा बाल शिक्षकहरु ठगिएको बताए ।

उनका अनुसार चौधरी गत फागुनदेखि तीन पटकसम्म आफ्नो विद्यालयमा धाएपछि १ हजार ३५० दिएर पठाएको थापाले पठाएका थिए । ‘पैसा उठाएर गएका चौधरी सम्पर्कविहीन छन्, तालिम नै सञ्चालन भएन’–प्रअ थापाले भने ।
चौधरी बाल शिक्षकहरुको घरघरै पुगेर तालिम शुल्क असुल्थे । उनले प्रति शिक्षक १ हजार ३५० संकलन गरेका थिए । सयौं व्यक्तिबाट यसरी संकलन भएको लाखौं रकम बोकेर उनी सम्पर्कविहीन भएका छन् । यसैमा ठगिएकी बाल शिक्षक मुना मुखियाले रसिद काटेर पैसा लगेको र तालिमका लागि पटकपटक सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बताइन् ।
चौधरीले रकम लिँदा तालिमको समापनपछि शैक्षिक सामग्रीसहित सो रकम फिर्ता गर्ने बताएको मुखियाले जानकारी दिइन् । झापाको बाह्रदशी, अर्जुनधारा, बिर्तामोड, मेचीनगर लगायतका विभिन्न पालिकामा चौधरीले बाल शिक्षकहरूबाट रकम असुलेको खुलासा भएको छ । पीडित बाल शिक्षकहरुले रकम उठाउने चौधरीलाई पक्राउ गरी कानूनी कार्वाही गर्न माग गरेका छन् ।







प्रतिक्रिया